काठमाडौं । पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र डा. बाबुराम भट्टराईविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा नचलाएको विषय फेरि ब्युँतिएको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले किर्ते मुद्दाबाट पनि छुटकारा दिएपछि राहत पाएका उनीहरुलाई किन मुद्दा नचलाएको भनेर सर्वोच्च अदालतले सोध्ने क्रममा अख्तियारबाट उन्मुक्ति पाएको विषय पनि साथै राख्न आदेश गरेको छ।
वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले सीआईबीविरुद्ध दायर गरेको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै मंगलबार सर्वोच्चका न्यायाधीश विनोद शर्माको इजलासले यो आदेश गरेको हो।
ललिता निवास जग्गा घोटाला प्रकरणमा अख्तियारले उनीहरुलाई दोषी देखाए पनि अधिकारक्षेत्रको अभावमा मुद्दा चलाउन नसकेको जनाएको थियो।
त्यतिखेर पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको थियो। त्यो मुद्दा विशेष अदालतमा अहिले पनि विचाराधीन छ।