काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले चालु आर्थिक वर्षमा देशका विभिन्न विमानस्थलको रन–वे, ट्याक्सी–वे तथा एप्रोन (पार्किङ)निर्माण तथा विस्तारका लागि ९६ करोड ७३ लाख ३७ हजार रूपैयाँ बजेट विनियोजन गरेको छ।
जसअनुसार विराटनगर विमानस्थलमा धावनमार्ग विस्तार र ट्याक्सी(वे सुधारका लागि १० करोड बजेट छुट्याएको छ। आर्थिक वर्ष २०७९–८० मा कुल १६ करोड ९० लाख ८३ हजार रूपैयाँ लागतमा यो विमानस्थलमा धावनमार्ग र ट्याक्सी–वे सुधारका लागि सम्झौता भएको थियो। धनगढी विमानस्थलको सवारी पार्किङ र बाटो (सडक एक्सेस)का लागि एक करोड २० लाख बजेट छुट्याएको छ।
मुगुको ताल्चा विमानस्थलमा पार्किङ र धावमार्गको पूर्वपट्टी पहिरो नियन्त्रणका लागि प्राधिकरणले चार करोड ४४ लाख २४ हजार रूपैयाँ छुट्याएको छ।
इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा चेंकलिंग फेंसिंग (विमानस्थल सुरक्षाका लागि तारबार लगाउने काम), बाटो (एक्सेस रोड)का लागि एक करोड र बहुवर्षीय योजना अन्तर्गत गोरखाको पालुङटार विमानस्थल सुदृढीकरणका लागि चार करोड ४२ लाख ४७ हजार रूपैयाँ छुट्याएको छ।
त्यस्तै, प्राधिकरणले बहुवर्षीय आयोजना अन्तर्गत चालु वर्ष महेन्द्रनगर विमानस्थलमा धावनमार्ग, ट्याक्सी–वे र पार्किङ लगायत कामका लागि नौ करोड ७६ लाख ९९ हजार रूपैयाँ छुट्याएको छ। भरतपुरको मेघौली विमानस्थलका लागि एक करोड ९ लाख रूपैयाँ, रूकुमको चौरजहारी विमानस्थलमा पूर्वाधार निर्माणका लागि २२ करोड १२ लाख रूपैयाँ छुट्याएको छ।
हुम्लाको सिमीकोट विमानस्थलमा पार्किङको लागि ६ करोड छुट्याएको छ। अछामको साँफेबगर विमानस्थलमा नागरिक उड्डयन कार्यालयको आगमन कक्षदेखि पार्किङसम्म जाने सडक निर्माणका लागि सात लाख ५० हजार, चन्द्रगढी विमानस्थलमा सडक, फायर भेइकल र टर्निङ प्याड निर्माणका लागि १५ लाख रूपैयाँ छुट्याएको छ। सिमरा विमानस्थलको ट्याक्सी–वे ओभरले र विमानस्थल सुरक्षाका लागि तारबार गर्नका लागि पाँच करोड २४ लाख ४४ हजार रूपैयाँ छुट्याएको छ।
त्यसैगरी, धनगढी विमानस्थलमा इन्धन ट्याङ्कर, फायर ट्रक र विमानस्थल बाटो निर्माणका लागि ६० लाख, जुम्ला विमानस्थल विस्तारका लागि ४ करोड ४२ लाख रूपैयाँ छुट्याएको छ। चन्द्रगढी विमानस्थलको डिभिआर–डिएमइसम्म (जहाजको स्थिति, ठाउँ र सञ्चार सुविधा)पुग्ने बाटो तथा सवारी पार्किङ क्षेत्र विस्तारका लागि दुई लाख रूपैयाँ छुट्याएको छ।
रूकुमको सल्ले विमानस्थल, संखुवासभाको तुम्लिङ्गटार र भरतपुर विमानस्थलमा सुरक्षाका लागि वरपर तारबार लगाउन प्राधिकरणले तीन करोड रूपैयाँ विनियोजन गरेको छ। त्यस्तै, कालीकोट विमानस्थलमा ड्रेन र धावनमार्ग सुधारका लागि ३० लाख रूपैयाँ छुट्याएको छ। अछामको साँफेबगर र कमलबजार विमानस्थल स्तरन्नोतिका लागि क्रमशः ३० र २० लाख, दार्चुलाको गोकुलेश्वर विमानस्थल स्तरन्नोतिका लागि ७४ लाख, डोल्पाको जुफाल विमानस्थल स्तरोन्नतिका लागि एक करोड १४ लाख, सुर्खेतको भेरिगंगा विमानस्थल स्तरोन्नतिका लागि एक करोड ५० लाख रूपैयाँ छुट्याएको छ।
त्यस्तै, दाङको टरीगाउँ विमानस्थल विस्तारका लागि ५० लाख, मुस्ताङको जोमसोम विमानस्थलमा धावमार्ग मर्मतका लागि एक करोड, भोजपुर विमानस्थलमा माटो काट्ने र विमानस्थल वरपर तारबार गर्ने कामका लागि ३० लाख रूपैयाँ छुट्याएको छ।