काठमाडौं । बिहीबारदेखि काठमाडौं उपत्यकामा अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कोभिड ¬१९ को जोखिम बढ्दो क्रममा रहेकाले निषेधाज्ञाको अवधिभर त्यस्ता कार्यालय बन्द रहने जनाइएको छ ।
प्रशासनले आज एक सूचना जारी गरी कोरोनाको महामारी तिब्र रुपमा बढिरहेकाले त्यसको नियन्त्रणका लागि उक्त निर्णय गरेको जनाएको छ ।
“निषेधाज्ञाको अवधिभर अत्यावश्यक सेवाको कार्यालय बाहेक अन्य सबै जिल्लास्थित कार्यालय यही वैशाख ३० गतेदेखि बन्द गर्ने-गराउने व्यवस्थाका लागि जानकारी गराइन्छ”, प्रशासनद्धारा जारी सार्वजनिक सूचनामा उल्लेख छ ।
सूचनामा अत्यावश्यक सेवाका कार्यालयलाई सेवा प्रवाहमा कुनै व्यवधान आउन नदिइ न्यूनतम जनशक्तिमा सेवा प्रवाहको व्यवस्थापन गर्नसमेत भनिएको छ । यसैबीच उपत्यकामा आज राति १२ बजेदेखि लागू हुनेगरी आगामी जेठ १३ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । आज राति १२ बजेदेखि तोकिएको निषेधाज्ञाको समयावधि सकिन लागेकाले रातिदेखिनै लागू हुनेगरी थप दुई हप्ता उक्त आदेश जारी गरिएको हो ।