अस्पतालमा अक्सिजनको चरम अभाव, बिरामीको उपचार गर्न नसकिने घोषणा

अस्पतालमा अक्सिजनको चरम अभाव, बिरामीको उपचार गर्न नसकिने घोषणा

काठमाडौं । कोरोना संक्रमितको उपचारमा अत्यावश्यक अक्सिजन अहिले नेपालमा पनि हाहाकार हुन थालेको छ । अस्पतालले अक्सिजन अभावमा बिरामीको उपचार गर्न नसकिने घोषणा गर्न थालेका छन् ।

काठमाडौं जोरपाटीको केएमसी अस्पतालले त बिरामी बाहिर लैजाउ भनेर उपचारबाट हात झिकेको छ । उसले बिरामी डिस्चार्ज पनि गर्न थालेको छ ।
काठमाडौंको जोरपाटीमा रहेको नेपाल मेडिकल कलेज शिक्षण अस्पतालले मंगलवार दिउँसो एकाएक कोरोना संक्रमित विरामीको उपचार गर्न नसकिने भनेर हात खडा गर्यो । त्यति मात्रै होईन, उसले अक्सिजन छैन भनेर विरामीलाई अन्त लैजाउ भन्यो र, त्यसको जानकारी सरकारलाई पनि गराइएको छ ।

अस्पतालका अनुसार अक्सिजन सप्लाई गर्ने संस्थाको मेसिन बिग्रिएको छ र अस्पतालसँग अक्सिजन मंगलवार दिउँसो चार बजेसम्मका लागि मात्रै थियो । अस्पतालको यो घोषणासँगै विरामी गम्भीर संकटमा पर्ने देखिएको छ ।

ललितपुरको भैंसेपाटीस्थित मेडिसिटी अस्पतालले पनि अक्सिजन अभावका कारण नयाँ विरामीको भर्ना बन्द गरेको छ । यही अवस्था रहे उपचार गराइरहेका विरामी पनि समस्यामा पर्न सक्ने अस्पतालले विज्ञप्ति निकालेर चेतावनी दिएको छ । कोभिड र नन कोभिड बिरामीको उपचारमा दिनमा ४ सय ५० देखि ५ सय सिलिण्डर अक्सिजन चाहिनेमा सरकारले १ सय सिलिण्डर मात्रै दिएको उसको गुनासो छ ।

प्रकाशित मिति:     २९ बैशाख २०७८, बुधबार  |    Himali Khabar