३३वटा प्रसारण लाइनलाई सर्वेक्षणको अनुमति प्रदान

३३वटा प्रसारण लाइनलाई सर्वेक्षणको अनुमति प्रदान

काठमाडौं । आर्थिक बर्ष २०७७-०७८ को हालसम्म ३३ वटा प्रसारण लाइनसम्बन्धी आयोजनाले सर्वेक्षणको अनुमति पाएका छन् । विद्युत् विकास विभागबाट प्राप्त वैशाख तेस्रो हप्तासम्म तथ्यांकले यस्तो देखाएको हो ।

नेपाल विद्युत् प्राधिकरण, राष्ट्रिय ग्रीड कम्पनीलगायत प्रवर्द्धकहरूले आयोजना बनाउने गरी विद्युत् विकास विभागबाट सर्वेक्षणको अनुमति पाएका हुन् । विभागका महानिर्देशक नवीनराज सिंहले ३३ वटाले प्रसारण लाइनले सर्वेक्षणको अनुमति पाएको बताए ।

नेपालमा विद्युत् प्राधिकरण र राष्ट्रिय ग्रीड कम्पनीले व्यावसायिक रूपमा नै ठूलाठूला प्रसारण लाइन निर्माण गर्छन् । त्यस्तै विद्युत् उत्पादकहरूले विद्युत् गृहबाट नजिकको सबस्टेशनसम्म प्रसारण लाइन बनाउँदै आएका छन् । यसका लागि विद्युत् विभागबाट नै अनुमति लिनुपर्ने हुन्छ ।
विभागका अनुसार ४०० केभीका सातओटा प्रसारण लाइनले सर्वेक्षणको अनुमतिपत्र पाएका छन् । सात प्रसारण लाइनको कुल लम्बाइ ५३८ दशमलव ५ किलोमीटर रहेको छ । ४०० केभीअन्तर्गत प्राधिकरणले न्यू बुटवल लमही कोहलपुर र कोहलपुर अत्तरिया प्रसारण लाइन बनाउने गरी सर्वेक्षणको अनुमति पाएको छ । यस्तै, ग्रीड कम्पनीले फुकोट–बेतन, बझाङ वेस्ट सेती र वेस्ट सेती कोरिडोर (वेस्ट सेती–दोधारा) प्रसारण लाइन बनाउने गरी सर्वेक्षणको अनुमति पाएको छ ।

अपर अरुण हाइड्रो इलेक्ट्रिक कम्पनी र बेतन कर्णाली सञ्चयकर्ता हाइड्रो कम्पनीले पनि ४०० केभीको प्रसारण लाइन बनाउने गरि सर्वेक्षणको अनुमति लिएका छन् ।

प्रकाशित मिति:     २७ बैशाख २०७८, सोमबार  |    Himali Khabar