काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०७७-०७८ मा विकास निर्माणका लागि छुट्याएको पूँजीगत बजेट खर्च ३४ प्रतिशत मात्र खर्च भएको छ । १० महिनामा ३४ प्रतिशत खर्च गरेको सरकारले अबको २ महिनामा ६६ प्रतिशत रकम खर्च गर्नु पर्ने छ ।
यो दुई महिनामा सामान्य स्थिति हुन्थ्यो भने पनि त्यो रकम खर्च हुने थिएन । तर यो पटक कोरोना कहरका कारण त्यो रकम खर्च गर्न सक्ने स्थिति नै छैन ।
विकास बजेट छुट्याउने तर खर्च गर्न नसक्ने सरकारको पुरानै रोग हो । जुन यसपटक पनि दोहोरिएको छ । १० महिनामा सरकारले कुल बिनियोजन बजेटको ५३.८४ प्रतिशत खर्च गरेको छ ।
चालु खर्चको दर केही बढी भएपनि पूँजीगत खर्च भने निराशाजनक छ । चालु आर्थिक वर्षका लागि ३ खर्ब ५२ अर्ब पूँजीगत खर्च छुट्याइएको थियो । तर आर्थिक वर्ष सकिन २ महिनामात्र बाकी रहँदा १ खर्ब २१ अर्ब रुपैयाँ अर्थात ३४. ४३ प्रतिशतमात्र खर्च भएको छ ।