काठमाडौं । नेपाल आयल निगमको पाक्षिक घाटा १ अर्ब पुगेको छ। इन्डियन आयल कर्पोरेसनबाट प्रत्येक १५ दिनमा प्राप्त हुने खरिद मूल्यअनुसार पाक्षिक घाटा यति रहेको हो ।
पछिल्लोपटक इन्डियन आयल कर्पोरेसनले निगमलाई पठाएको पेट्रोलियम पदार्थका नयाँ मूल्यअनुसार पेट्रोल, डिजेल र खाना पकाउने एलपी ग्यासको मूल्य बढेर आएको छ। तर, कोरोना महामारीको दोस्रो लहरले मुलुकको अर्थतन्त्रमा गम्भीर समस्या पर्ने अवस्था आएका कारण हाललाई कुनै पनि पेट्रोलियम पदार्थको भाउ वृद्धि नगर्ने निर्णय गरिएको छ ।
भारतले मे १ मा पठाएको नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ ७६ पैसा, डिजेलमा प्रतिलिटर ३ रुपैयाँ ४२ पैसा र एलपी ग्यासमा प्रतिसिलिन्डर ३ सय ७५ रुपैयाँ १३ पैसा घाटा रहेको निगमले जनाएको छ। यस हिसाबले निगमले प्रत्येक १५ दिनमा १ अर्ब रुपैयाँ घाटा ब्यहोरिरहेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए।
पेट्रोलियम पदार्थको स्वचालित मूल्य कार्यान्वयन कार्यविधि २०७१ अनुसार मूल्य समायोजन गर्नुपर्ने भए पनि निगमले पछिल्लो समय गरेको छैन ।