सगरमाथा आरोहणमा कोटा प्रणाली, कुन समूहको पालो कहिले ?

सगरमाथा आरोहणमा कोटा प्रणाली, कुन समूहको पालो कहिले ?

काठमाडौं । पर्यटन विभागले सर्वोच्च शिखर सगरमाथाको आरोहणलाई व्यवस्थित गर्न भन्दै पहिलोपटक कोटा प्रणाली लागू गरेको छ । विभागले भिडभाड कम गरी आरोहणलाई व्यवस्थित गर्नका लागि कोटा तोकिएको जनाएको छ।

विभागले पहिलो चरणमा आरोहण अनुमतिपत्र नम्बर ६, ७, ९, १४, १७, १९, २०, २२, २३, २४, २५, २६, २७, ३२, ३४, ३६, ३७ र ३८ मार्फत अनुमति लिएका आरोही र दलले चुचुरो जान पाउने भएका छन् ।

पहिलो चरणको समूह फर्किसकेपछि आरोहण अनुमतिपत्र नम्बर ४०, ४१, ४३, ४५, ४६, ४७, ४९, ५०, ५१, ५२, ५५, ५७, ५९, ६२, ६३, ६७ र ६८ मार्फत अनुमति लिएका आरोहीले चुचुरोमा जान पाउने भएका छन् ।आरोहण अनुमतिपत्र नम्बर ७२ देखि पछि अनुमति लिएका आरोहीले भने त्यसपछिको अनुकूल मौसम हेरेर आरोहणमा जानुपर्नेछ । यसरी हुने व्यवस्थापनले समेत आरोहणमा असहज परिस्थिति उत्पन्न हुने देखिएमा सम्बन्धित एजेन्सीले आपसी सहमति र समन्वयमा एकपटकमा १ सय ५० देखि १ सय ७० जनाको संख्या नबढ्ने गरी आरोहण व्यवस्थापन गर्न सक्ने भएका छन् ।

यस वर्ष सगरमाथा आरोहण गर्न ३९ समूहका ३ सय ७१ जनाले अनुमति लिएका छन् । यसमध्ये ८७ जना महिला छन् । यो सिजनमा १६ हिमाल चढ्न ७४ समूहका ६ सय ५९ जना पर्वतारोहीले स्विकृति लिएका छन् । यस आरोहण सिजनमा सरकारले रोयल्टी मात्र ४९ करोड ४२ लाख रुपैयाँ संकलन गरेको छ ।

प्रकाशित मिति:     १० बैशाख २०७८, शुक्रबार  |    Himali Khabar