काठमाडौं । विगत ७ महिनादेखि थन्किएको रहेका रेल सञ्चालन गर्न तयारी अन्तिम चरणमा पुगेको नेपाल रेल्वे कम्पनीले बताएको छ । वैशाख महिनाभित्रै रेल सञ्चालनमा ल्याउने तयारी भएको कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिए ।
रेल सञ्चालनका लागि पुराना तथा अवकाश पाइसकेका र हाल कार्यरत कर्मचारीलाई कम्पनीले तालीम दिने भएको छ । एक सय जना कर्मचारी तथा प्राविधिकलाई तालीम दिन लागिएको छ । बुधवारदेखि रेल सञ्चालनको सेफ्टी वर्गका कर्मचारीलाई तालीम दिइने छ। उनका अनुसार तालीम दिन भारतको कोंकण रेल्वे कर्पाेरेशनका अधिकारी जनकपुर आइसकेका छन् ।
गत असोज १ गते जनकपुरमा आएका दुई रेल सञ्चालनका लागि कम्पनीले त्यसअघि भदौ अन्तिम साता एक सय २९ जना कर्मचारीलाई करारमा नियुक्त गर्न विज्ञापन खुलाएको थियो ।