काठमाडौं । चालू आर्थिक वर्षको नौ महिनाको अवधीमा सरकारले लक्ष्यको ७० प्रतिशत कर राजस्व संकलन गरेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार चैतसम्म छ खर्ब ३६ अर्ब ६९ करोड रुपैयाँ कर राजस्व संकलन भएको छ।
चालू वर्षका लागि सरकारले नौ खर्ब १३ अर्ब रुपैयाँ कर राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको छ । कुल राजस्व संकलन भने छ खर्ब ८३ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ । यो लक्ष्यको ६७.५९ प्रतिशत हो । चालू आवमा सरकारले दश खर्ब ११ अर्ब ७५ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । चैतसम्म सरकारले ४७ अर्ब १७ करोड रुपैयाँ राजस्व संकलन भएको छ।
यसबाहेक सरकारले १० अर्ब सात करोड रुपैयाँ अनुदान प्राप्त गरेको छ भने ३५ अर्ब ५९ करोड रुपैयाँ अन्य प्राप्ति शीर्षकबापत आम्दानी गरेको छ । अनुदान र अन्य प्राप्तिसहित सरकारको खातामा चैतसम्म सात खर्ब २९ अर्ब ५३ करोड रुपैयाँ संकलन भएको छ।