कोरोना बीमामा ६० हजार ५८७ जनाले दाबी भुक्तानी पाए

कोरोना बीमामा ६० हजार ५८७ जनाले दाबी भुक्तानी पाए

काठमाडौं । कोरोना बीमामा हालसम्म ६० हजार ५८७ जनाले दाबी भुक्तानी पाएका छन् । कोरोना बीमामा हालसम्म ९१ हजार ६७३ जनाले दाबीका लागि आवेदन दिएका छन् ।

बीमा समितिका अनुसार चैत ३० गतेसम्ममा ५ अर्ब ८५ करोड १५ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी भएको छ । गत कात्तिकसम्म दाबी भुक्तानीमा ढिलाइ भएको थियो । तर, पछिल्लो समय दाबी भुक्तानी नियमित रूपमा भइरहेको छ ।

आवेदन दिएकामध्ये ६६६ जनाले भने दाबी रकम नपाउने भएका छन् । प्रतीक्षा अवधिमा कोरोना संक्रमित भएका, नक्कली पीसीआर रिपोर्ट बुझाएका तथा दोहोरो आवेदन दिएकाहरूले दाबी रकम नपाउने भएका हुन् ।

पछिल्लो पटक मन्त्रालयमा पीसीआर प्रतिवेदन स्वीकृतिका लागि ३७ हजार ३८६ आवेदन पठाइएको थियो । त्यसमा १८ हजार ५२७ आवेदन स्वीकृति भएर आइसकेको छ भने १८ हजार ८५९ ओटा आवेदन पीसीआर रिपोर्ट प्रमाणीकरणका लागि स्वास्थ्य मन्त्रालयमा छ । बाँकी आवेदनको पनि आवश्यक प्रक्रिया पूरा गरेर भुक्तानी दिइने समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।

प्रकाशित मिति:     २ बैशाख २०७८, बिहीबार  |    Himali Khabar