काठमाडौं । कोरोना महामारीकाबीच उत्साहवद्र्धक रुपमा चलिरहेको वसन्त यामको हिमाल आरोहणबाट पर्यटन व्यवसायी निकै उत्साहित देखिएका छन् ।
सगरमाथासहितका विभिन्न हिमाल आरोहणमा देखिएको आकर्षणले महामारीले शिथिल बनेको पर्यटन क्षेत्र चलायमान हुने अपेक्षा व्यावसायिकको छ ।
पर्यटन विभागले हालसम्म वसन्त यामको सगरमाथासहितका विभिन्न हिमाल आरोहणका लागि ४९ आरोही समूहलाई आरोहण अनुमति दिएको छ । विभागको पछिल्लो विवरणमा हालसम्म ४९ आरोही समूहका ४१९ आरोहीले आरोहण अनुमति लिएका छन् । सगरमाथा आरोहणका लागि मात्रै हालसम्म २६ आरोही समूहका २४४ आरोहीले आरोहण अनुमति लिएका छ्न । विभागले हालसम्म सगरमाथा, अन्नपूर्ण, मकालु, मनास्लु, धौलागिरि, ल्होत्से, पुमरी, नुप्से र टुकुचे हिमाल आरोहण गर्ने आरोहण अनुमति दिएको छ ।
महामारीकै कारण अघिल्लो वर्षको वसन्त याममा पर्वतारोहण र पदयात्राले असर बेहोरेको सन्दर्भमा यस यामको हिमाल आरोहणले पर्यटन क्षेत्रमा उत्साह जगाएको पर्यटन व्यवसायीको बुझाइ छ । यसले विश्वभर नेपालीको पर्वतिय पर्यटन सुरक्षीत छ भन्ने सन्देश प्रवाह हुने अपक्षा छ ।