अन्तःशुल्क स्टीकर छपाइको जिम्मा विदेशी कम्पनीलाई मात्रै दिनेगरि प्रक्रिया अघि बढाउन नपाउने

अन्तःशुल्क स्टीकर छपाइको जिम्मा विदेशी कम्पनीलाई मात्रै दिनेगरि प्रक्रिया अघि बढाउन नपाउने

काठमाडौं, २६ चैत । विदेशी कम्पनीलाई अन्तःशुल्क स्टीकर छपाइको जिम्मा दिनेगरी आन्तरिक राजस्व विभागले अघि बढाइएको प्रक्रिया रोक्न भन्दै परेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । सरकारले स्टीकर छपाइको काम नेपाली कम्पनी अर्थात् जनक शिक्षा सामग्री केन्द्रबाट गर्न थालेपछि न्यायाधीशद्वय तेजबहादुर केसी र कुमार रेग्मीको इजलाशले रिट खारेज गर्ने अन्तिम फैसला सुनाएका हुन ।

पछिल्लोपटक गत असोज २८ गते विभागले अन्तरराष्ट्रिय बोलपत्रमार्फत स्टीकर छपाइका लागि आह्वान गरेको थियो । विभागले आह्वान गरेको बोलपत्रको समय मङ्सिर १४ गतेसम्म रहेको थियो ।

बोलपत्रको अन्तिम दिन नेपाली व्यवसायी मिराज प्रिन्टिङका तर्फबाट मनोहरराज घिमिरेले दायर गरेको रीटमा सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश तेजबहादुर केसीको एकल इजलाशले आन्तरिक राजस्व विभागलाई अन्तःशुल्क स्टीकर छपाइका लागि गरेको टेन्डर रोक्न अल्पकालीन आदेश दिएको थियो । अन्तिम फैसला सर्वोच्चबाट आए पनि पूर्ण फैसला अझै सार्वजनिक गरिएको छैन । सर्वोच्चले रीट खारेज गरेसँगै विभागले तत्काल अन्तःशुल्क छपाइको जिम्मा विदेशी कम्पनीलाई दिनेगरी मात्रै प्रक्रिया अघि बढाउन नपाउने सर्वोच्चका अधिकारीहरूले जनाएका छ्न ।

प्रकाशित मिति:     २६ चैत्र २०७७, बिहीबार  |    Himali Khabar