काठमाडौं, २२ चैत । कोरोनाका कारण थलिएको नेपालको पर्यटन क्षेत्रमा पर्वतारोहणले केहि आशा जगाएको छ । पर्यटन विभागको शनिबारसम्म विभिन्न हिमाल आरोहणका लागि अनुमति लिनेको सङ्ख्या २१७ पुगेको छ । विभागले गत फागुन २५ गते चालू वसन्तयामका लागि पहिलो पटक चार जनाको एक टोलीलाई आरोहण अनुमति प्रदान गरेको थियो ।
त्यसको एक महिना नपुग्दै पर्वतारोहणको अनुमति लिनेको सङ्ख्यामा सुधार भइरहेको विभागले जनाएको छ । विभागका अनुसार सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि शनिबारसम्म १०७ जनाले अनुमति लिएका छन् ।
शनिबार मात्रै दुई वटा आरोहण टोलीका गरेर २४ जनाले सगरमाथा आरोहण अनुमति पाएको विभागले जनाएको छ । गत वर्ष मुख्य सिजनमै सगरमाथा आरोहण रोकिएको थियो । सगरमाथाबाहेक मनास्लु, अन्नपूर्ण, ल्होत्से, टुकुचे, धौलागिरि, पुमरी हिमाल आरोहणका लागि पनि विभागले अनुमति जारी गरेको छ । यसबाहेक नेपाल पर्वतारोहण सङ्घले अनुमति जारी गर्नसक्ने कम उचाइका हिमालमा पनि आरोहणका लागि अनुमति प्रदान गर्ने काम भइरहेको छ । त्यसरी प्रदान गरिएको अनुमति विगतकै हाराहारीमा नभए पनि पर्वतारोहणमा भने सुधार आएको हिसाबले बुझ्न सकिने अनुमान छ ।