पर्यटकलाई सातदिने क्वारेन्टिनको व्यवस्था हट्यो, यस्ता छन् अन्य नयाँ मापदण्ड

पर्यटकलाई सातदिने क्वारेन्टिनको व्यवस्था हट्यो, यस्ता छन् अन्य नयाँ मापदण्ड

काठमाडौं, १३ चैत । सरकारले नेपाल आउने पर्यटकले पूरा गर्नुपर्ने मापदण्ड व्यवस्था गरेको छ। मन्त्रिपरिषद्ले नेपाल आउने पर्यटकहरूको आवागमनलाई व्यवस्थित गर्न पर्यटकहरूको आवागमनलाई व्यवस्थित गर्ने सम्बन्धी मापदण्ड २०७७ जारी गरेको हो।

सरकारको मापदण्डमा नेपाल आउने पर्यटकले अनिवार्य रूपमा ७२ घण्टाअघिको पिसिआर नेगेटिभ रिपोर्ट पेस गर्नुपर्ने उल्लेख गरेको छ। यस्तै नेपालमा रहने अवधिको होटल बुकिङ गरेको प्रमाणसमेत पेस गर्नुपर्ने व्यवस्था गरिएको छ। यस्तै पर्यटकको बीमा र भिसा वा नेपालको पर्यटकीय गतिविधिमा सहभागी हुने पर्यटन विभाग वा नेपाल पर्यटन बोर्डको सिफारिसको कागजातसमेत पेस गर्नुपर्ने व्यवस्था गरिएको छ।

यस्तै पर्यटकका साथमा जाने नेपाली सहयोगीको कम्तीमा पनि एक लाख रुपैयाँको कोरोना बीमा गराउनुपर्ने छ। भारतबाट आउने पर्यटकहरूका लागि नेपाल भारत ट्राभल बबल सहमति अनुसार हुनुपर्ने व्यवस्था गरिएको छ। कुनै पर्यटकले मापदण्डका व्यवस्था पालना नगरे कारबाही गरिने समेत मापदण्डमा उल्लेख छ।

कोरोना संक्रमणको दोस्रो लहर सुरु हुने आशंकामा सरकारले पर्यटक आवागमनलाई कडाइ गर्न लागेको हो।

प्रकाशित मिति:     १३ चैत्र २०७७, शुक्रबार  |    Himali Khabar