चुनावको मौका छोपेर उपभोग्य वस्तुको मूल्यवृद्धि, अधिकांशको मूल्य १५ % बढ्यो

चुनावको मौका छोपेर उपभोग्य वस्तुको मूल्यवृद्धि, अधिकांशको मूल्य १५ % बढ्यो

काठमाडौं । चुनावको मौका छोपेर बजारमा अधिकांश उपभोग्य वस्तुको मूल्यवृद्धि गरिएको पाइएको छ । मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिएसँगै बजारमा उपभोग्य वस्तुको मूल्य १५ प्रतिशतभन्दा धेरै बढेको पाइएको छ ।

सरकारको सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रित हुँदा उपभोक्ता भने मूल्यवृद्धिको मारमा परेका छन् । सरकारका बजार नियमनकारी निकायका कर्मचारी समेत निर्वाचनमा केन्द्रित भएको मौका छोपेर व्यापारीले आफूखुशी मूल्य तोक्न थालेको गुनासो उपभोक्ताहरूले गरेका छन् । नेपाल खुद्रा व्यापार संघका पूर्वअध्यक्ष पवित्र वज्राचार्यले दशैं, तिहारपछि मात्र दैनिक उपभोग्य हरेक वस्तुको मूल्य १५ प्रतिशतले बढेको बताए । पछिल्लो समय खाने तेल, दाल, चामल मात्रै नभई अन्य वस्तुको समेत मूल्य बढेर आएको उनको भनाइ छ ।

पूर्वअध्यक्ष वज्राचार्यले पछिल्लो एक वर्षमा उपभोग्य वस्तुको मूल्य ३० प्रतिशतभन्दा धेरै बढिसकेको बताए । दशैं, तिहारका बेला प्रतिलिटर २४० रुपैयाँ पर्ने खानेतेल अहिले २८० रुपैयाँ पुगेको उनको भनाइ छ । सूर्यमुखी, भटमास तथा तोरीको तेलको मूल्य पनि प्रतिलिटर ४० रुपैयाँले बढेको उनले बताए ।

भारत सरकारले नेपालमा चामल निर्यातमा प्रतिबन्ध लगाएपछि मात्र प्रतिबोरा चामलको मूल्य ४०० रुपैयाँसम्म बढेको वज्राचार्यले बताए । भारतले धान निर्यातमा लगाएको २० प्रतिशत कर हटेपछि चामलको मूल्य घटेर आए पनि नेपाली चामल मिलवालाले भने अहिलेसम्म पुरानो मौज्दात भन्दै महँगोमा विक्री गरिरहेको उनको भनाइ छ । सरकारी कर्मचारी निर्वाचन केन्द्रित भएको मौकामा बजारमा उपभोग्य वस्तुको मूल्य बढाउनु अस्वाभाविक भएको उनले बताए ।

प्रकाशित मिति:     ३० कार्तिक २०७९, बुधबार  |    Himali Khabar