जीटूजी मल ल्याउने सम्झौताका ८ महिनामा पनि मल आएन

जीटूजी मल ल्याउने सम्झौताका ८ महिनामा पनि मल आएन

काठमाडौं । रासायनिक मलको अभाव हटाउन सरकारले भारतबाट जीटूजी प्रक्रियामार्फत मल ल्याउने सम्झौता गरेको ८ महीना बित्न लागेको छ । उक्त मल आउने/नआउने टुंगो अझै लाग्न सकेको छैन । गत फागुन दोस्रो साता सरकारले आगामी ५ वर्षसम्म निरन्तर रूपमा भारतबाट ९ लाख ३५ हजार मेट्रिक टन रासायनिक मल ल्याउने सम्झौता गरेको थियो ।

सम्झौतापत्रमा उल्लेख भएअनुसार गत आर्थिक वर्ष (आव) २०७८/७९ मा नेपालले १ लाख ५० हजार मेट्रिक टन (मेटन) रासायनिक मल जीटूजी प्रक्रियामार्फत भारतबाट प्राप्त गर्नुपर्थ्यो । उक्त आव सकिएर नयाँ आव २०७९/८० शुरू भएकै ३ महीना बित्न लागिसके पनि मल आएको छैन ।

धान रोपाइँको समयमा भएको मलको हाहाकार न्यूनीकरण गर्न शुरुआती चरणमा ३० हजार मेटन युरिया ल्याउने गरी गत असारदेखि नै काम अघि बढे पनि हालसम्म त्यसको टुंगो लाग्न सकेको छैन । विभिन्न कानूनी प्रावधान, मलको मूल्य र ढुवानीलगायत विषयमा कुरा नमिल्दा मल आयातको प्रक्रियामा ढिलाइ हुन गएको बताइएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले विभिन्न कानूनी अड्चनका कारण यति ढिलो भएको र अब अन्य सबै कुरा मिलिसकेर मूल्यमा अड्किएको बताए । मूल्य निर्क्योल गर्न भारतले मूल्यसूची कृषि सामग्री कम्पनीलाई पठाइसकेको र त्यसको अध्ययन भइरहेकाले अब चाहिँ चाँडै मूल्य टुंगो लाग्ने उनले बताए ।

मन्त्रालयका अनुसार हाल कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनसँग करीब ८ हजार मेटन युरिया, ४३ हजार मेटन डीएपी र ४ हजार ३ सय मेटन पोटास मल मौज्दात छ । हिउँदे बाली गहुँ, तोरी, आलु र अन्य तरकारीका लागि १ लाख २० हजार मेटन रासायनिक मल आवश्यक पर्ने मन्त्रालयको भनाइ छ ।

मौज्दातबाहेक कृषि सामग्री कम्पनीले ४० हजार मेटन डीएपी आयातको तयारी गरिरहेको र ३० हजार टन युरिया विशाखापत्तनम् बन्दरगाहमा ब्यागिङ भएर रेलमा लोड हुने क्रममा रहेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति:     २७ आश्विन २०७९, बिहीबार  |    Himali Khabar