शनिबारदेखि हवाई भाडा वृद्धि, कुन गन्तव्यमा कति ?

शनिबारदेखि हवाई भाडा वृद्धि, कुन गन्तव्यमा कति ?

काठमाडौं, ७ चैत । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएसँगै हवाइ सेवाप्रदायक कम्पनीले हवाई भाडा बढाएका छन् । वायुसेवा सञ्चालकको छाता सङ्गठन वायुसेवा सञ्चालक संघले बढेको इन्धनको मूल्यअनुसार शनिबारदेखि भाडा वृद्धि गरिएको जनाएको छ ।

निगमले चैत ३ गते राति १२ बजेदेखि लागू हुने गरी हवाई इन्धनमा प्रतिलिटर दुई रुपैयाँ बढाउने निर्णय गरेको थियो । उक्त निर्णयअनुरुप हवाई इन्धनको मूल्य जे जति घटबढ हुन्छ सोही अनुपातमा स्वचालित प्रणालीअनुसार मूल्य बढाइएको संघले जनाएको छ ।

संघका प्रवक्ता योगराज कँडेल शर्माका अनुसार हवाई गन्तव्यमा साविकको मूल्यमा सबैभन्दा बढी ९० र कम्तीमा छोटो दूरीमा पाँच रुपैयाँ भाडा बढेको छ । काठमाडौं–धनगढी गन्तव्यमा ९०, काठमाडौं–भद्रपुरमा ६० भाडा रुपैयाँ बढेको छ भने पर्वतीय उडानमा ७० रुपैयाँ बढेको छ ।

हवाई इन्धनको मूल्य प्रतिलिटर दुई रूपैयाँ थपघट हुँदा भाडा हेरफेर गर्न पाउने व्यवस्था सरकारले गरेको छ । आयल निमगले हालै मात्र हवाइ इन्धनमा प्रतिलिटर दुई रुपैयाँ मूल्य बढाएको थियो । बढेको इन्धनअनुसारको भाडादर नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृतसमेत प्राप्त भएको संघले जनाएको छ

प्रकाशित मिति:     ७ चैत्र २०७७, शनिबार  |    Himali Khabar