काठमाडौं । मानव बेचबिखनको आरोपमा काठमाडौंको सिनामङ्गलस्थित आयुष ओभरसिज प्रालिका सञ्चालक उदितनारायण शाह पक्राउ परेका छन् । उक्त ओभरसिजका पब्लिक रिलेसन अफिसर दिवाकर झा र रिसेप्सनिष्ट राखीकुमारी सिंह पनि पक्राउ परेका छन् ।
उनीहरूले कम्बोडियामा कम्प्युटर अपरेटरसम्बन्धी काममा नौ सयदेखि एक हजारसम्म अमेरिकी डलर कमाई हुने भनी प्रलोभनमा पारेर अश्लील गतिविधिमा संलग्न गराई अन्य व्यक्तिबाट पैसा ठगी गर्ने कार्यमा संलग्न गराइएको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले आज एक विज्ञप्ति जारी गरी जनाएको छ ।
उनीहरूले पटकपटक गरेर पीडितबाट ३ लाख ८३ हजार रकमसमेत लिएको पाइएको छ । शाहले पीडितको कम्बोडियासम्मको भिजिट भिसा र टिकट बनाएर गत चैत २७ मा संयुक्त अरब इमिरेट, सिङ्गापुरहुँदै कम्बोडियाको रोज एन्ड रोज भन्ने चाइनिज कम्पनीमा पुर्याएका थिए ।