काठमाडौं २ चैत । नेपाली सेनाले हिमाल सफाइ अभियान थाल्ने भएको छ । छ वटा हिमालमा रहेको ३५ टनसम्म फोहोर सङ्कलन गरिने भएको छ ।
अन्य विभिन्न सङ्घ संस्थासँगको समन्वयमा नेपाली सेनाले अगामी महिना सञ्चालन गर्न लागेको सफा हिमाल अभियानमा उक्त परिमाणमा फोहोर सङ्कलन र व्यवस्थापन गरिने नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए। सरसफाइ अभियान यही चैत ३१ देखि सुरु हुने छ ।
वैशाख २ गते टोली हिमाल प्रस्थान गर्ने कार्यक्रम तय भएको छ । सरसफाइमा जाने विभिन्न समूहलाई २१ दिनको तालिम प्रदान गरिएकोे छ । सगरमाथाबाट १६ टन, ल्होत्से हिमालबाट एक टन, मकालु, धौलागिरि र आमादब्लमबाट पाँच–पाँच टन, पुमोरी हिमालबाट तीन टनसम्म फोहोर सङ्कलन गरिनेछ । सफा हिमाल अभियानले प्रदूषण नियन्त्रण र हिमाल सरसफाइबाट विश्वव्यापी तापक्रमको नियन्त्रणमा टेवा पु¥याउने, पर्वतीय अर्थोपार्जनमा सरकारलाई सघाउने, पर्यटनको साथसाथै पर्वतारोहीलाई आकर्षित गर्ने, भावी पुस्ताका लागि हिमाल संरक्षण गर्ने लक्ष्य लिएको छ ।
सङ्कलित फोहोरलाई जैविक र अजैविक रूपमा वर्गीकरण गरिनेछ । सङ्कलित फोहोरलाई विश्व वातावरण दिवस जुन ५ का दिन हस्तान्तरण गरिने पौडेलले जानकारी दिए ।