नेपाल ट्रष्टको जग्गामा कानुन बमोजिम नै भवन निर्माण गरेको भन्दै यती समूहले गर्यो समाचारको खण्डन
काठमाडौं, २९ पौस । यती समूहले दरबारमार्गस्थित निर्माण गरेको भवन नेपाल ट्रष्ट र काठमाडौं महानगरपालिकाकै आदेशमा बनाएको जनाएको छ। केही सञ्चारमाध्यममा त्यस सम्बन्धमा भ्रामक तथा कपोकल्पित समाचार सम्प्रेषण गरेको भन्दै यती समूहले खण्डन गरेको छ।
नेपालको समग्र पर्यटन विकास र राष्ट्रको पर्यटन अर्थतन्त्रका असीमित सम्भावनालाई अन्तर्राष्ट्रिय स्तरमा फैलाउन करिब ४ दशकदेखि अग्रणी भूमिका निर्वाह गर्दै आएको यती समूहले मंगलबार विज्ञप्ती जारी गर्दै भवन निर्माण कानुनी आधारबाटै भएको कम्पनीले स्पष्ट पारेको छ । ‘विगत केही समययता नियमित रूपमा यती समूहविरुद्ध भइरहेका कपोकल्पित र नियोजित प्रचारवाजीलाई सँच्चा देशभक्त, राष्ट्रवादी आदिवासी–जनजाति शेर्पा समुदायबाट प्रतिनिधित्व गर्ने समूहले गरेको सफलता र प्रगतिप्रतिको इर्श्याको रूपमा लिएका छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘हामी कानुनको जगमा उभिएर निरन्तर आफनो सेवामूलक पेसाप्रति अझ धेरै प्रतिबद्ध रहिरहने प्रतिबद्धता जनाउन चाहन्छौं।’
दरबार मार्गको भवनमा सम्झौताभन्दा बढी तला थपेर भाडा लगाएको भन्ने समाचारमा कुनै सत्यता नभएको यती समूहले स्पष्ट पारेको छ। यती समूहले भवन निर्माण सम्बन्धित सबै सरकारी निकाय र कानुनबमोजिम गरिएको बताएको छ।
समाचारमा गोकर्ण रिसोर्टको भाडा रकम नबुझाएको गलत प्रचारसमेत गरिएको बताइएको छ। कोरोना महामारीमा समेत २०७७ मंसिर २२ गते गोकर्ण रिसोर्टले सम्पूर्ण भाडा चुक्ता गरिसकेको जनाएको छ। कोरोना भाइरसले व्यवसाय शून्य भएपछि सरकार र सर्वोच्च अदालतले भाडा छुट दिन आदेश दिँदासमेत ट्रष्टको कार्यालयले असहयोग गरेको समूहको आरोप छ।
यता ताहाचलस्थित सोल्टी होटलसँगै रहेको जग्गाबारे नेपाल ट्रष्टले टेण्डर गरी लिजमा दिएको ३ वर्षसम्म आन्तरिक व्यवस्थापनका कारण उपभोग गर्न नपाएको र अदालतले २०७६ वैशाख २५ गते फैसला गरेपछि मात्र नक्सा निर्माणको काम सुरु गरेको यती समूहले जनाएको छ। सम्झौतामा नक्सा स्वीकृति भएको ३ वर्षपछि मात्र भाडा रकम लागू भइ बुझाउनुपर्ने भएकाले रकम बुझाउन नपरेको यती समूहले स्पष्टसमेत पारेको छ।
गलत चर्चामा ल्याएको चितवनको आँपटारी जग्गाका विषयमा भने यती समूहले आफ्नो धारणा सार्वजनिक गरेको छ। नेपाल ट्रष्टले आँपटारीको जग्गा लिजमा दिएको तर भरतपुर महानगरपालिकले उक्त जग्गा प्रयोगमा असहयोग गरेको यती समूहले जनाएको छ। उपभोग गर्न नपाएपछि सम्झौता रद्द गर्न भनी नेपाल ट्रष्टको कार्यालयमा निवेदन दिए पनि सुनुवाई नभएको यती समूहको आरोप छ। उसले धरौटी रकम र क्षतिपूर्ति फिर्ताको माग गर्दै न्यायालय गुहार्न पुगेको जनाएको छ। जग्गाको लिज अधिकार रिसोर्टलाई हस्तान्तरण नभएको जारी विज्ञप्तीमा उल्लेख छ।








Leave a Reply
Be the First to Comment!