अमेरिकी संसद्मा ट्रम्प समर्थकबाट हिंसात्मक आक्रमण
काठमाडौं, २३ पौस । अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्पका हिंसक समर्थकहरूले क्यापिटल बिल्डिङमा पसेर आक्रमण गरेका छन्। अमेरिकी कङ्ग्रेसमा सांसदहरूले जो बाइडनको जितको पुष्टि गर्न छलफल गरिरहेका बेला उनीहरुले संसद्भित्रै पसेर आक्रमण गरेका हुन्।
सदनमा बहस चलिरहेकै बेला अचानक ट्रम्प समर्थकहरू क्यापिटल बिल्डिङभित्र प्रवेश गरेका थिए। त्यसपछि बहस रोक्नु पर्यो। ट्रम्प समर्थकहरू चुनावी परिणाम रद्द गर्न माग गर्दै प्रदर्शनरत थिए। त्यसक्रममा केही प्रदर्शनकारी र प्रहरीबीच हिंसक झडप पनि भएका छन्। उक्त प्रदर्शनमामा गोली चलेको थियो । गोली लागेर एक जनाको मृत्यु भएको छ। मृतकको पहिचान भने हुन सकेको छैन । मृतक महिला भएको र उनी आम नागरिक रहेको प्रहरीले बताएको छ ।
अवस्था नियन्त्रण बाहिर गएपछि न्याशनल गार्डलाई क्यापिटल हिल पठाइएको छ। ह्वाइट हाउसकी प्रेस सेक्रेटरीले ट्वीट गरेर त्यसको जानकारी दिएकी हुन्। क्यापिटल भित्र भिड अनियन्त्रित र हिंसक भएपछि क्यापिटल हिल प्रहरीले थप सुरक्षाबल पठाउन माग गरेको थियो। एउटा नाटकीय दृश्यमा प्रदर्शनकारीहरू उक्त भवनभित्र झुन्डमा प्रवेश गरेका थिए। त्यसबेला सांसदहरूलाई चाहिँ प्रहरीले सुरक्षा दिएर बाहिर ल्याउँदै थियो।








Leave a Reply
Be the First to Comment!