विश्वको नेतृत्व गर्न अमेरिका फर्केर आयो : जो बाइडेन
काठमाडौं, १० मंसिर । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले विश्वको नेतृत्व गर्न अमेरिका फर्केर आएको बताएका छन् । रिपब्लिकन राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘अमेरिका फर्स्ट’ नीति मार्फत अमेरिकालाई विश्व मञ्चबाट अलग र ‘एक्लो’ बनाएको भन्दै बाइडेनले अब सो अध्यायको पाना पल्टिने बताएका हुन् ।
सत्ता सम्हाल्ने तयारीका लागि विभिन्न छ वटा महत्वपूर्ण पदमा मनोनयन घोषणा गर्दै बाइडेनले आफ्नो समूहले अमेरिका र अमेरिकी नागरिकलाई सुरक्षित राख्दै विश्वको नेतृत्व गर्ने बताएका हुन् । पूर्व उपराष्ट्रपति समेत रहेका बाइडेनले आफ्नो टिममा रहने परराष्ट्र नीति तथा राष्ट्रिय सुरक्षाका सदस्यहरुको परिचय गराउँदै आउँदो जनवरी २० मा सत्ता सम्हालेपछि ट्रम्पको ‘एकतर्फी राष्ट्रवाद’ को नीतिबाट अमेरिकालाई अलग गराउने संकेत गरेका हुन् ।
बाइडेनले आफ्नो समूहले अमेरिकालाई सुरक्षित राख्न, विश्वव्यापी महामारी नियन्त्रण गर्न र जलवायु परिवर्तनलाई सम्बोधन गर्न आफ्नो अनुभव साझेदारसँग सहकार्यमा लगाउने बताएका छन् । बाइडेनले डिरेक्टर अफ नेशनल्स इन्टेलिजेन्समा एभ्रिल हेन्सलाई मनोनयन गरेका छन् । यदि अनुमोदन भएमा उनी डिरेक्टर अफ नेशनल्स इन्टेलिजेन्समा पहिलो महिला बन्नेछिन् । यस्तै विदेशमन्त्रीको जिम्मेवारी टोनी ब्लिङ्केनलाई, होमल्यान्ड सिक्युरिटीमा अलेहान्द्रो मयोर्कस, अर्थमन्त्रीमा अर्थशास्त्री ज्यानेट येलेन मनोनयनमा परेका छन् ।
बाइडेनले जलवायु परिवर्तनको संकटसँग जुध्ने आफ्नो प्रमुख दूतका रूपमा पूर्व विदेशमन्त्री जोन केरीलाई मनोनित गरेका छन् ।








Leave a Reply
Be the First to Comment!