मेरी हजुरआमा
नवराज लामिछाने
उमेरले ९० बर्ष काटेकी मेरो ममतामयी माताको आमा (मेरो मावाली हजुरआमा) अहिले ९० वर्षको हुनुभयो । अझ सिधा भाषामा भनौं बूढी भइसक्नुभयो, तर उहाँको सोच विचार हेर्दा लाग्छ उहाँ बूढी नभएर आधुनिक जमानाको मान्छेजस्तो हुनुहुन्छ । कसैले ‘तपाईं कति वर्षको हुनुभयो ?’ भनेर सोध्दा मेरी हजुरआमा भन्नुहुन्छ, ‘मलाई थाहा छैन, छोराछोरीलाई सोध्नुपर्छ ।’ तर उहाँको नागरिकता हेरेर थाहा भयो उहा ९० वर्ष पार गरिसक्नु भयो ।
कुनै पनि व्यक्तिलाई एक पटक देखेपछि ऊ कस्तो खालको मान्छे हो भन्ने कुरा ठ्याक्कै पत्ता लगाउने उहाँको खुबी छ । त्यस्तै, घरमाको कति बेला भोकाएको हुन्छ र के खान खोजेको छ भन्ने कुरा उहाँलाई नभनिकनै थाहा हुन्छ ।
सानै उमेरमा विवाह बन्धनमा बाँधिनुभएको उहाँ अहिले अरुले भने सानै उमेरमा विवाह नगरून् भन्ने चाहनुहुन्छ । भन्नुहुन्छ, “सानैमा विवाह गरे धेरै दुःख पाइन्छ, अबका छोरीहरुले पढेर जागिर खाएपछि मात्र विवाह गरुन् ।” १० वटा बच्चाबच्चीकी आमा उहाँ आफूले धेरै छोराछोरी पाएर धेरै दुःख पाएकोमा गुनासो गर्दै भन्नुहुन्छ, ‘छोराछोरी जति नै भए पनि यस्तै हो । आफ्नो दुःख आफैसँग हुन्छ ।’
चलन फेरियो
पुरानो चलन मान्दै आउनुभएकी मेरी हजुरआमा सबैले सबै काम गर्नसके सहयोगको लागि कसैको आश गर्नु नपर्ने बताउनुहुन्छ। हुन त यो मेरी हजुरआमाको मात्र नभएर सबै हजुरआमा र हामी सबै नाति नातिनाको सोच हो । आफूले काम गर्नसके आफैँलाई सहज हुन्छ भन्ने उहाँको विचार छ । समयको खेल न हो सधै कहाँ एकनास हुन्छ ? बुढ्यौली लाग्दै जाँदा दुर्भाग्यबस् अहिले उहाँले दुबै आँखा त्यती राम्रोसँग देख्न सक्नु हुन्न् । उसै पनि पाको उमेरको मान्छे काम त के गर्नु र तैपनि भान्छाको साथी बन्नुहुन्छ । तरकारी काट्ने होस् वा आलु तास्ने सबै काममा अघि सरिहाल्नु हुन्छ । नभए पनि पुराना चालचलनको गफ गर्दै सबैलाई नयाँ कुरा सिकाउनु मात्र हुन्न कहिलेकाली हाँसी मजाक पनि गर्नुहुन्छ ।
उहाँ हजुरआमाको रुपमा भन्दा पनि साथीकै रुपमा मलाई गाउँसमाज र अन्य मान्छेहरुसँग गर्ने व्यवहारबारे सम्झाउनुहुन्छ । साँच्चै मेरी हजुरआमा मेरो मिल्ने साथी नै हुनुहुन्छ । उहाँ भएपछि मलाई कहिल्यै एक्लो महसुुस हुँदैन । हजुरलाई मेरो मिठो सम्झना, अनि मुटु भरीको माया ।








Leave a Reply
Be the First to Comment!