पर्यटन क्षेत्र पुनरुत्थानका लागि पर्यटन व्यवसायीले राखे नौ बुँदे माग

पर्यटन क्षेत्र पुनरुत्थानका लागि पर्यटन व्यवसायीले राखे नौ बुँदे माग

काठमाडौं । पर्यटनसँग सम्बन्धित १२ वटा सङ्घसंस्थाहरूले कोरोनाको कारण शिथिल बनेको पर्यटन क्षेत्र बचाउन आवश्यक कदम तत्काल चाल्न आग्रह गरेका छन् । ती सङ्घसंस्थाले पर्यटन क्षेत्रको पुनरुत्थानका लागि नौ बुँदे माग प्रस्तुत गरेका छन् ।

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट्स् (नाट्टा), होटल सङ्घ नेपाल, ट्रेकिङ एजेन्सिज अफ नेपाल, नेपाल पर्वतारोहण सङ्घ, नेपाल एसोसिएसन अफ -याफ्टिङ एजेन्सिज, नेपाल एसोसिएसन अफ टुर अपरेटर्स, टुरिस्ट बस एसोसिएसन अफ नेपाल, सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स नेपाल, हिमालय उद्धार सङ्घ, नेपाल पर्यटक यातायात व्यवसायी सङ्घ, एक्सपिडिसन अपरेटर्स एसोसिएसन नेपाल र पाटा नेपाल च्याप्टरले यस्तो माग गरेका हुन ।

आर्थिक वर्ष २०७८/७९ को बजेटमा घोषणा गरिएका पर्यटनसँग सम्बन्धित नीति तथा कार्यक्रमहरू यथाशीघ्र लागू गर्र्ने, पर्यटन सेवाप्रदायक व्यवसायी तथा कामदार, कर्मचारीहरूलाई एवं सरोकारवालालाई कोभिड–१९ विरुद्धको खोप लगाउने व्यवस्था ३० दिनभित्र हुनुपर्ने, सम्पूर्ण नेपालीलाई कोभिडविरुद्ध खोप उपलब्ध गराई विश्व पर्यटन क्षेत्रमा विश्वसनीय वातावरणका लागि पहल गरी सम्पूर्ण पर्यटकीय क्षेत्र खुल्ला गर्नुपर्ने रहेका छन् ।

त्यस्तै, खोपको मात्रा पूरा गरी नेपाल आउने पर्यटकलाई क्वारेन्टिन बस्न नपर्ने तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र अन्य प्रवेश बिन्दुहरूमा पीसीआर जाँचको व्यवस्था गरी पोजिटिभले मात्र क्वारन्टाइन बस्नुपर्ने व्यवस्था गर्न पनि माग छ ।
नेपालमा पर्यटक आउने सबै देश/सहरमा भिसा जारी गर्ने निकाय नरहेकाले पर्यटकको यात्रा सहजीकरण र नेपाल घुम्न प्रेरित गर्नका लागि अनलाइन भिसा (ई–भिसा) सेवा प्रणालीमार्फत सहजरूपमा ‘भिसा अन–अराइभल’ व्यवस्था लागू गर्नुका साथै फ्री भिसाको कार्यान्वन अविलम्ब सुरु गरी पर्यटकीय सेवा प्रदायक होटल/एजेन्टमार्फत मात्रै भ्रमण गर्न पाउनुपर्ने व्यवस्था लागू गर्न पनि माग गरिएको छ ।   स्वास्थ्य सुरक्षा प्रोटोकल कार्यान्वयन प्रभावकारी बनाउन देशव्यापी तालिम तथा अनुगमन संयन्त्रको व्यवस्था गर्न, सीसीएमसीमा पर्यटन सम्बद्ध मुख्य छाता–सङ्गठनका अध्यक्षहरूमध्येबाट प्रतिनिधित्व गराउन, पर्यटक सवारी सम्बन्धमा तुरुन्तै जारी हुन लागेको इम्बोस्ट नम्बर प्लेट पर्यटक सवारीसाधनमा हाल भइरहेको हरियो प्लेट जस्तै छुट्टै किसिमको पहिचान हुने गरी व्यवस्था गर्न तथा पर्यटक सवारी सहज रूपमा मुलुकका विभिन्न प्रदेशहरूमा बिनारोकटोक थप आर्थिक भार बिना झन्झटरहित आवागमन गर्न पाउने व्यवस्था गर्न माग गरिएको छ ।

ट्रेकिङ, टुर,-याफ्टिङलगायत अन्य साहसिक कम्पनीहरूको न्यूनतम अधिकृत पुँजी २५ लाख बराबरको बिनाधितो पाँच वर्षका लागि शून्य प्रतिशत ब्याज दरमा ऋणको व्यवस्था गर्न, कोभिड–१९ का कारणले पर्यटन यातायात सञ्चालन नभएको अवस्थामा सवारी कर पूर्ण रूपले छुट गर्न र आव २०७६/७७ र २०७७/७८ को जरिवाना पूर्ण छुट गर्न माग गरिएको छ । त्यस्तै, पर्यटकीय यातायात व्यवसायीहरूका लागि ३ प्रतिशतमा कर्जा उपलब्ध गराउनुपर्ने, सवारी साधन जाँचपास तथा प्रदूषण परीक्षण शीर्षकमा लाग्ने कर तथा जरिवाना एक वर्षका लागि शतप्रतिशत मिनाहा गर्नुपर्ने र सवारी साधन सञ्चालन नरहेको अवधिलाई शून्य समय गणना गरी सवारी साधनको बीमाबापतको रकम कम्तीमा एक वर्षका लागि मिनाहा गर्नुपर्ने माग पनि गरिएको छ ।

प्रकाशित मिति:     २७ श्रावण २०७८, बुधबार  |    Himali Khabar