२०७६ कार्तिक २६

आजको पत्रपत्रिका :सम्हालिन छाडे निर्मलाका बुबा , ७४ वर्षीय वृद्ध ,बालिका बलात्कार आरोपमा पक्राउ

 

कञ्चनपुर – छोरी निर्मला पन्तका बलात्कारी र हत्यारा सार्वजनिक गर्न माग गर्दै १३ दिनदेखि धर्नामा बस्दै आएका बुबा यज्ञराज सम्हालिन नसक्ने अवस्थामा पुगेका छन् । शारीरिक रूपमा कमजोर उनी मानसिक रूपमा पनि विक्षिप्त भएका छन् । केही दिनदेखि उनले अस्वाभाविक व्यवहार देखाउन थालेका छन् ।

 

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको मूलगेटमा अनिश्चितकालीन धर्नामा रहेका यज्ञराज छिनछिनमै हाँस्ने, गाली गर्ने र रुने गर्न थालेका छन् । सरकार र प्रहरी प्रशासन मात्रै होइन, आफूसँगै धर्नामा बसेका अधिकारकर्मी र पत्रकारलाई पनि उनले गाली गर्छन् । भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टको नामै लिएर गाली गरेका छन् । उनको मानसिक स्वास्थ्यमा समस्या आएको भन्दै अधिकारकर्मीहरूले चिन्ता जनाएका छन् ।

 

‘मलाई पनि गाली गर्नुभयो । उहाँको स्वास्थ्य निकै बिग्रिएको छ,’ नागरिक संघर्ष समिति कञ्चनपुरकी संयोजक मीना भण्डारीले भनिन् । अधिकारकर्मीहरूले धर्ना स्थगन गरेर आन्दोलनको स्वरूप परिवर्तन गर्नुपर्ने राय राखेका छन् । यज्ञराजको उपचारका लागि आफन्तलाई प्रशासनले पटक–पटक आग्रह गर्दै आएको छ । ‘हामीले यज्ञराजको उपचारका लागि आग्रह गर्दै आएका छौँ,’ सहायक प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले भने, ‘आफन्तले छलफल गरेपछि प्रशासनलाई खबर गर्छौँ भनेका छन् ।’

 

धर्नास्थल छाडेर दौडिए यज्ञराज

शुक्रबार बर्बराउँदै धर्नास्थल छाडेर हिँडेका यज्ञराजलाई प्रहरीको सहयोगमा महेन्द्रनगर बजारबाट फिर्ता ल्याउँदै अधिकारकर्मी ।
शुक्रबार यज्ञराज एक्कासि धर्नास्थल छाडेर दौडिएर महेन्द्रनगर बजारसम्म पुगे । चिच्याउँदै र जथाभावी बोल्दै दौडिएका उनको पछिपछि अधिकारकर्मीहरू पनि लागे । बजारबाट अधिकारकर्मीहरू निर्मला भट्ट जोशी, लक्ष्मी मल्ल र शान्ता पोखरेलले प्रहरीको सहयोगमा उनलाई धर्नास्थलमा फर्काए ।-नयांपत्रिका

 

७४ वर्षीय वृद्ध ,बालिका बलात्कार आरोपमा पक्राउ

 

सप्तरी- इन्सेक सप्तरीले ११ महिनाको अवधिमा सप्तरीमा ३३ बालिका बलात्कृत र १३ बालिका यौन दुव्र्यवहारबाट पीडित भएको प्रतिवेदन सार्वजनिक गरेकै दिन शुक्रबार बालिका बलात्कारको आरोपमा पाहुना आएका एक वृद्ध पक्राउ परेका छन्।

 

घर परिवारका सदस्य धान भित्र्याउन खेत गएको बेला पाहुना आएका सप्तरीको तिरहुत गाउँपालिका ३ का ७४ वर्षीय महावीर सरदार बलात्कार आरोपमा पक्राउ परेका हुन्। घरमा कोही नभएको मौका छोपेर बिहीबार दिउँसो वृद्धले बालिका बलात्कार गरेको पीडितको उजुरीमा उल्लेख गरिएको छ।

 

धान काटेर घर आएकी आमालाई पीडितले घटनाबारे जानकारी गराएपछि पीडितसँगै राजविराज आएकी उनकी आमाले शुक्रबार नै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी हुन्।

 

पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा शुक्रबार स्वास्थ्य परीक्षण भएको अस्पतालले जनाएको छ।जिल्ला अदालतबाट शुक्रबार पक्राउ पुर्जीको अनुमति लिई आरोपितलाई पक्राउ गरिएको बताउँदै इन्स्पेक्टर हेमन्त भण्डारी क्षेत्रीले थप अनुसन्धान गरी कारबाही अगाडि बढाइएको बताए। -अन्नपुर्ण पोष्ट

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
सम्पर्क कार्यालय,
Welcome Digital pvt.ltd
Kathmandu, Kamaladi
Phone : 9851117401
Email : himalikhabar10@gmail.com
Publicer/Editor :Shanker Prasad Pandit
Web : www.himalikhabar.com
www.himalikhabar.com All rights reserve 2016