२०७६ कार्तिक २६

आजका पत्रपत्रिका : पानीमा विषादी, २७ विद्यार्थी बिरामी, ४ सिकिस्त, अब खोला तर्दा पनि जनतालाई कर,फौजदारी अभियोग साबित भए बिहे निषेध

विराटनगर — विषादी मिसिएको पानी पिउँदा मंगलबार मोरङको जाँतेस्थित एक विद्यालयका २७ विद्यार्थी बिरामी परेका छन् । उनीहरूमध्ये ४ जना सिकिस्त छन् । लेटाङ नगरपालिका–९, जाँतेस्थित श्रीमाध्यमिक विद्यालय परिसरमा रहेको ट्यांकीको पानी पिउँदा विद्यार्थी बिरामी भएका हुन् ।

 

ट्यांकीभित्र भेटिएको विषादी तरकारी र अन्नबालीमा लाग्ने कीरा मार्न प्रयोग हुने विज्ञले बताएका छन् । विषादी कसले मिसायो भन्ने खुलेको छैन । पानी पिएका विद्यार्थीलाई रिंगटा लाग्ने, टाउको दुख्ने र बान्ता हुने लक्षण देखिएको छ ।
सिकिस्त बनेका कक्षा ९ की खुश्बु मिश्र, ७ की सृष्टि निरौला, ९ की कमला लिम्बू र ५ का मनीष थापाको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ । बढी बान्ता गरेर शरीर गलेपछि उनीहरूलाई विराटनगर ल्याइएको हो ।

 

चिकित्सकले उनीहरूको अवस्था खतरामुक्त भएको बताएका छन् । बाँकी २३ जनाको मंगलबारेस्थित स्वास्थ्य केन्द्रमा उपचार भइरहेको जाँतेस्थित प्रहरी चौकीका असई हरिनारायण राजवंशीले बताए । प्राचार्य खेमराज दुलालका अनुसार पानी फिल्टर गर्ने करिब ५ सय लिटरको सानो ट्यांकीभित्र विषादी हालिएको पत्ता लागेको छ । त्यस ट्यांकीबाट फिल्टर भएर सँगैको अर्को ३५ सय लिटर क्षमताको ट्यांकीमा पानी जम्मा हुने गर्छ । त्यसैको पानी विद्यार्थी, शिक्षक र कर्मचारीले पिउँदै आएका छन् ।
बाल कक्षादेखि १२ सम्म पढाइ हुने यो विद्यालयमा ४ सय ९१ विद्यार्थी छन् । शिक्षक र कर्मचारी १९ जना रहेको प्राचार्य दुलालले बताए । ‘हामी सबैले त्यही पानी प्रयोग गर्दै आएका छौं,’ उनले भने, ‘यस्तो घातक काम कसले गर्‍यो, चकित छौं ।’
विद्यालय समय सुरु हुन लाग्दा विद्यार्थीले पानी पिएका थिए । पिउँदा अनौठो गन्ध आएपछि केहीले शिक्षकलाई भनेका थिए । शिक्षकहरूले जाँच गर्ने क्रममा ट्यांकीभित्र विषादी हालेको पाइएको थियो । पानी पिएपछि बिसञ्चो भयो भन्दै कतिपय विद्यार्थी घर गएका थिए । पछि विषादी हालेको पत्ता लागेपछि बस्तीमा माइकिङ गरी पानी पिएका विद्यार्थीलाई तत्काल विद्यालय बोलाइएको प्राचार्य दुलालले बताए । सबैलाई भेला गरी सुरुमा मंगलबारेस्थित प्राथमिक स्वास्थ्य केन्द्र लगिएको थियो । त्यहाँ प्रारम्भिक उपचारपछि चारजनालाई विराटनगर ल्याइएको उनले सुनाए ।
पानी पिएर घर फर्केका केही विद्यार्थीमा वाकवाकीको लक्षण देखिएपछि अभिभावकसमेत आत्तिएर विद्यालय पुगेका थिए । विराटनगरमा उपचाररत कक्षा ९ की कमला लिम्बूका बुबा फौदराज लिम्बूले स्कुल पुगेर तुरुन्तै सोधखोज गरेको बताए । ‘पानी खाएर बिसञ्चो भएको थाहा पाउनासाथ स्कुल गएर बुझ्दा ट्यांकीमा कसैले विष हालेको थाहा पायौं,’ उनले भने, ‘त्यसपछि पानी पिएका जति सबैलाई उपचारका लागि स्वास्थ्य संस्था पुर्‍यायौं ।’ वडा ९ का अध्यक्ष तथा विद्यालय सञ्चालक समिति सदस्य कृष्णप्रसाद लुइँटेलका अनुसार ट्यांकी सुरक्षित गरी राखिएको छ । ‘तर माथि चढेर जबर्जस्ती बिर्को उघारी विषादीको बोतल ट्यांकीभित्र हालेको भेटियो,’ उनले भने, ‘कसले यसो गर्‍यो भनेर अनुसन्धान भइरहेको छ ।’
प्रहरीका अनुसार ट्यांकीमा ‘साइपेरिन मेथिन १०’ नामक विषादीको बट्टा फेला परेको छ । यो कीटनाशक विषादी हो । सुनसरीको तरहरास्थित क्षेत्रीय कृषि अनुसन्धान केन्द्रका बाली रोग वैज्ञानिक नवीन दंगालका अनुसार उक्त विषादी तरकारी र अन्नबालीमा कीरा मार्न प्रयोग हुन्छ ।
‘स्प्रे गरेर यसलाई बालीमा नकारात्मक असर गर्ने कीरा मार्न प्रयोग गरिन्छ,’ उनले भने, ‘यो विषादी बालीमा लगाएको केही सातापछि मात्र त्यो उत्पादन प्रयोग गर्न मिल्छ, नत्र मानव स्वास्थ्यका लागि हानिकारक हुन्छ ।’ विषादी कसले हालेको भन्ने खुलेको छैन । असई राजवंशीका अनुसार ट्यांकीमा विषादी हाल्नेको खोजी सुरु गरिएको छ । लेटाङ नगरपालिका प्रमुख शंकर राईले विद्यालयको खानेपानी ट्यांकीमा विषादी हाल्नेजस्तो गम्भीर अपराध कसले गर्‍यो भन्ने पत्ता लगाउन प्रहरीको सहयोगमा अनुसन्धान भइरहेको बताए ।

 

त्यस क्षेत्रका कुन–कुन पसलमा त्यस्तो विषादी राखिएको छ र गाउँको कसले किनेर लगेको हो भन्नेसमेत पत्ता लगाउने प्रयास भइरहेको उनले जानकारी दिए । बिरामी परेका विद्यार्थीको उपचारमा नगरपालिकाले सघाउने उनले बताए । -कान्तिपुर दैनिक
अब खोला तर्दा पनि जनतालाई कर

काठमाडौ -पुल बनाउँछु भन्दै मत माग्ने नेताले अब डुंगाबाट खोला तर्न बाध्य जनताबाट कर उठाउन थाले

कर उठाउन घाट–घाटमा ठेकेदार
स्थानीय सरकार करमा कठोर बनेको समाचार आइरहेका बेला कैलालीको धनगढी उपमहानगरपालिकाले देशलाई नै आश्चर्यमा पार्ने निर्णय गरेको छ । आफ्नै घरवरिपरिका खोलामा डुंगा तर्ने स्थानीयले अब उपमहानगरलाई कर तिर्नुपर्ने भएको छ । घाँस–दाउरा गर्न खहरे खोला तर्ने जनताबाट कर उठाउन उपमहानगरले ठेकेदारलाई जिम्मा दिएको छ । अब डुंगामा खोला तर्दा प्रतिव्यक्ति २५ रुपैयाँ, प्रतिसाइकलको १५, मोटरसाइकलको ३०, चौपायाको १५ रुपैयाँ र सामानको प्रतिबोरा १५ रुपैयाँ कर लिने गरी ठेक्का दिइएको छ ।

 

बर्खाको समयमा बाढी आउने ती खहरे खोलामा यसअघि स्थानीयले नै निजी डुंगा चलाउँथे । अब यसको आम्दानी उपमहानगरले लिने भएको छ । उपमहानगरपालिकाका लेखा अधिकृत लेखनाथ ओझाले एक खोला एक घाटको १२ हजार रुपैयाँमा ठेक्का भइसकेको र अरु प्रक्रियामा रहेको बताए । उपमहानगरपालिकाभित्र ३–४ वटा खोलाका एक दर्जन घाट छन्, प्रत्येक घाटमा ठेकेदार परिचालन हुनेछन् । यसरी सबै खोलाका सबै घाटमा उपमहानगरले डुंगा चलाए बढीमा एक लाख ४४ हजार हुन्छ । तर, यही आम्दानीका लागि पनि सर्वसाधारणबाट कर उठाउन थालिएको छ । जबकि, तिनै जनताको उन्नतिका लागि भनेर उपमहानगरपालिकाले एक अर्ब ७९ करोडको बजेट पारित गरेको छ । -नयां पत्रिका

 

फौजदारी अभियोग साबित भए बिहे निषेध
नयाँ मुलुकी देवानीसंहिता ऐन, २०७४ को भाग ३ मा पारिवारिक कानुनको व्यवस्था गरिएको छ । अब फौजदारी अभियोगमा सजाय भोगेकाले विवाह गर्न पाउनेछैनन् । देवानीसंहिता ऐनको दफा ७१ अनुसार विवाह गर्न हुने र नहुने, विवाह बदर गर्न सकिनेलगायत व्यवस्था गरिएको छ ।

 

दफाको २ ९छ० मा नैतिक पतन देखिने फौजदारी अभियोगमा कसुरदार ठहरी अदालतबाट सजाय पाएकाले विवाह गर्न नपाउने व्यवस्था गरिएको छ । उपदफा ३ अनुसार कसुरदार व्यक्तिले झुक्याई विवाह गरे मर्का पर्ने व्यक्तिले त्यस्तो विवाह बदर गराउन तथा झुक्याई विवाह गर्ने वा गराउनेबाट मनासिब क्षतिपूर्ति दाबी गर्न सक्नेछ ।

 

व्यक्ति बेपत्ता बनाए १५ वर्ष कैद र ५ लाख जरिवाना
व्यक्ति पक्राउ गरेर बेपत्ता पारे अब पक्राउ गर्न आदेश दिने सरकारी अधिकारीले नै जेल सजाय भोग्नुपर्ने भएको छ । १ भदौदेखि लागू हुने मुलुकी अपराधसंहिता ऐन, २०७४ मा व्यक्ति बेपत्ता पार्ने कार्यमा संलग्न हुनेलाई अधिकतम १५ वर्ष कैद र पाँच लाख जरिवाना गर्न सक्ने व्यवस्था गरिएको हो । प्रहरीले पक्राउ गरेको २४ घन्टाभित्र मुद्दा हेर्ने सम्बन्धित अधिकारीसमक्ष उपस्थित नगराए वा उसको अवस्थाबारे परिवारलाई जानकारी नदिए पक्राउ गर्न आदेश दिने व्यक्ति नै कसुरदार ठहरिने व्यवस्था छ ।

 

ऐनको दफा २०६ को १ मा अनुसन्धान गर्न वा कानुन कार्यान्वयन गर्न अख्तियारी पाएको व्यक्ति वा सुरक्षाकर्मीले पक्राउ गरेको, हिरासतमा राखेको वा अन्य कुनै किसिमले नियन्त्रणमा लिएको व्यक्तिलाई मुद्दा हेर्ने अधिकारीसमक्ष २४ घन्टाभित्र उपस्थित नगराए वा कसरी कुन अवस्थामा राखिएको छ भन्ने जानकारी नदिए बेपत्ता कसुर लाग्ने व्यवस्था स्पष्ट पारिएको छ ।

 

‘अब पहिलाजस्तो सुरक्षाकर्मीले मुद्दा हेर्ने अधिकारी र परिवारलाई बेपत्ता व्यक्तिको अवस्थाबारे जानकारी नदिए, आफूखुसी जेलमा राखे व्यक्ति बेपत्तासम्बन्धी कसुर लाग्नेछ,’ कानुन आयोगका अध्यक्ष माधवप्रसाद पौडेलले भने, ‘व्यक्ति बेपत्ता पार्ने ऐन सबैको हकमा लागू हुनेछ ।’

 

आदेश दिने र आदेश मान्ने मुख्य कसुरदार
कुनै व्यक्तिलाई जुन व्यक्तिको आदेशमा पक्राउ गरेर थुनामा राखी वा नियन्त्रणमा लिई बेपत्ता पारेको हो, त्यस्तो आदेश दिने र आदेश कार्यान्वयन गर्ने व्यक्ति बेपत्ता पार्ने मुख्य कसुरदार मानिने ऐनमा छ । मुलुकी अपराधसंहिता ऐनको दफा २०६ को उपदफा ३ मा यसको व्याख्या गरिएको छ । सार्वजनिक पद धारण गरेको व्यक्ति वा संगठन वा संगठित जिम्मेवारी व्यक्तिको आदेश वा निर्देशनबमोजिम बेपत्ता पारिएको हो भने पनि मुख्य कसुरदार मानिनेछ ।

 

कसैले आफूमातहतको पदाधिकारी, निकाय वा समूहबाट व्यक्ति बेपत्ता पार्ने कार्य गर्ने वा गराउन लागेको कुरा थाहा पाएर पनि त्यसको उपेक्षा गरेमा वा त्यस्तो कार्य रोक्ने सम्बन्धमा आवश्यक उपाय नअपनाएमा उक्त व्यक्ति पनि कसुरदार मानिने ऐनको दफा २०६ को उपदफा ५ मा उल्लेख छ ।

यस्तै, उपदफा ६ मा कुनै व्यक्तिलाई एकभन्दा बढी व्यक्तिले सामूहिक रूपमा बेपत्ता पारे संलग्न सबै व्यक्ति समान रूपमा कसुरदार मानिनेछन् । ऐनको दफा २०६ को उपदफा ७ ९ख० मा व्यक्ति बेपत्ता पार्न मतियार बन्ने वा षड्यन्त्र गर्नेलाई व्यक्ति बेपत्ता पार्ने मुख्य कसूरदारसरह र सोको उद्योग गर्ने वा परिपञ्च मिलाउने व्यक्तिलाई मुख्य कसुरदारलाई हुने सजायको आधा सजाय हुनेछ भन्ने उल्लेख छ । यसअघि कुनै ठोस कानुन थिएन ।

 

बेपत्ता व्यक्तिको सम्पत्ति हस्तान्तरण सहज
बेपत्ता व्यक्तिको सम्पत्ति उसको हकवालाले प्राप्त गर्न पनि अब सहज हुने भएको छ । पुरानो मुलुकी ऐनमा व्यक्ति बेपत्ता भए उसको परिवारले सम्पत्ति पाउन १२ वर्षसम्म कुर्नुपर्ने अवस्था थियो । अर्थात् बेपत्ता व्यक्तिको मृत्यु भएको मान्न १२ वर्ष कुर्नुपथ्र्यो । अब तत्कालै उजुरी लिई कारबाही अगाडि बढ्ने भएकाले समस्या सहज हुनेछ ।

 

महिला र बालबालिका बेपत्ता पार्नेलाई १७ वर्ष कैद
महिला तथा बालबालिका बेपत्ता पार्नेलाई सजाय अझ बढी छ । १५ वर्ष सजायमा थप दुई वर्ष थपेर १७ वर्ष कैद हुने ,यसैगरी सरकारी साधन, भवन, हातहतियार वा मालसामान प्रयोग गरी व्यक्ति बेपत्ता पार्ने व्यक्तिलाई १५ वर्षमा थप एक वर्ष कैद हुनेछ । ऐनको दफा १० मा यो व्यवस्था छ ।नयांपत्रिका

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
सम्पर्क कार्यालय,
Welcome Digital pvt.ltd
Kathmandu, Kamaladi
Phone : 9851117401
Email : himalikhabar10@gmail.com
Publicer/Editor :Shanker Prasad Pandit
Web : www.himalikhabar.com
www.himalikhabar.com All rights reserve 2016