२०७७ मंसिर १३

जेल जीवन भोगेका विवेकको समाजसेवाको यात्रा, भन्छन्– जेल परेका सबै अपराधी हुदैनन् ।

काठमाडौं । पछिल्लो समय विवेक उपाध्याय जेल परेका मानिसलाई सुधार्ने अभियन्ताका रुपमा चिनिँदै आएका छन् । दुई वर्षयता उनीले अनवरत रुपमा अभियानमा सक्रिय छन् । यो समयमा उनले नेपालका विभिन्न जिल्लाका जेल भ्रमण गरि कैदीहरुको अवस्था अध्ययन गर्नुका साथै उनीहरुका लागि काम गर्ने योजनासमेत बनाएका छन् ।

 

‘रौतहटको जेल भत्किएको छ। भत्केको ढल नजिकै भएकाले दुर्गन्ध फैलिएको छ। सानो जेलमा अटाइनअटाई कैदी राखिएका छन्,ु अवलोनपछि विवेक भन्दै थिए तराईका प्रायः सबै जेलको अवस्था नाजुक छ। खाने पानीदेखि स्वास्थ्य सामग्रीको अभाव कैदीहरुले भोगिरहेका छन्।’ राज्यले सजाए दिएका कैदीहरुलाई समाजले सजाए दिन्छ। एउटा सामान्य गल्तीले जेल परेर निस्केको मान्छे समाजकै कारण आत्महत्या गर्नसमेत बाध्य हुन्छ,’ विवेक भन्छन्, ‘राज्यले सजाय दिएपछि समाजले उसको परिवारको तीन पुस्तासम्मलाई सजाय दिइरहन्छ।’ जेल पर्ने सबैलाई समाजले अपराधीको नजरले हेर्नुलाई नै प्रमुख समस्या ठान्छन् उनी।

 

युवा उमेरमै करोडपति भइसकेका विवेक जेल परेका थिए। ४६ दिन जेल बसेर निस्किए त्यसपछि समाजको तिरस्कार छदै थियो । त्यही समाजको पिडाले आत्महत्या गर्ने सम्मको सोच बनाए । दुईपटक सम्म आत्महत्याको प्रयास गरेका उनले तेस्रो पटक प्रयास नै गरेनन । विवेकले विगत कोट्याए, ‘मर्नुभन्दा बौलाउनु जाती भनेर त्यतिकै बसेँ।’ विवेक पोखराका व्यापारी थिए। व्यापारिक पृष्ठभूमि भएकाले उनलाई पैसाको दुःख थिएन्। क्याफेबाट व्यावसाय सुरु गरेका उनले रेडिमेड कपडा पसल, विद्यालय र सहकारीलगायका व्यवसायमा लगानी गरेका थिए। २३ वर्षकै उमेरमा करोडपति भइसकेका थिए उनी। व्यवसाय धेरै भएकाले सबै ठाउँमा आफू पुग्न सम्भव थिएन। कर्मचारीको भरमा छोडिएकाले उनको व्यावसाय डुब्न थाल्यो। आफ्नै कमर्चारीको गलत कदमले उनी फस्दै गए। प्रहरीले उनलाई समात्यो।

 

परिवारको कोही पनि चौकीसमेत नटेकेका तर उनी सोझै जेल परे। कारोबार गर्ने क्रममा उनले एक जनालाई साढे सात लाखको चेक दिए। चेक बाउन्स भयो। सहकारीमा काम गर्ने उनको कर्मचारीहरुले ‘फेक डिपोजिट’ गर्दै पैसा निकाल्ने गर्दा रहेछन्। विश्वास गरेको कर्मचारीले उनलाई घात गरे। उनी त्यही चेक बाउन्सको आरोपमा जेल परे।
उनी जेल परेपछि अखबारमा समाचार छापिए। उनीसँग कारोबार गर्ने व्यक्तिले काठमाडौं, पोखरालगायत ठाउँमा रहेका व्यवसायमा ताला लगाइदिए। पैसा डुब्यो। उनको परिवार नै बदनाम बन्न पुग्यो । जेलमा उनलाई समय काट्न गाह्रो हुन्थ्यो। उनी त्यहाँ डायरी लेख्थे। पुस्तकहरु पढ्थे। जेलमा भएका विविध समस्याहरु त नियमित भोग्नु नै पर्थ्यो। ४६ दिनपछि उनी साढे सात लाख धरौटी तिरेर छुटे। जेलबाट छुटेपछि काठमाडौं आए। त्यसपछि तनाव सुरु हुन थाल्यो। जेलबाट निस्केपछि आफन्तले नै उनलाई मानेनन्। आफू त डुबिस् परिवारलाई पनि डुबाइस्ु भन्ने धेरै थिए। घरबाट बाहिर निस्किँदा उनलाई नकारात्मक दृष्टिकोणले हेर्ने र तुच्छ बचन लगाउनेहरुको कमि थिएन ।

 

उनी मानसिक रुपमा विक्षिप्त भए। जीवन कसरी अगाडि बढाउने सोच्न सकेनन्। उनको साथी रक्सी बन्यो। १ वर्ष त्यतिकै बित्यो। आत्महत्याको प्रयास सफल भएन। विदेश जान मनले मानेन। व्यापार गर्न जोश थिएन्। करोडभन्दा बढी ऋण तिर्न सकिरहेका थिएनन्। अब गर्ने चाहिँ के त, उनी आफैँलाई थाहा थिएन।

 

एकदिन जेलमा लेखेको डायरी पल्टाए। डायरीमा लेखिएको थियो । ‘वर्षौदेखि सामान्य धरौटी तिर्न नसकेका कैदीहरुलाई छुटाउने काम गर्छु।’ यो वाक्यमा उनको ध्यान केन्द्रित भयो। धरौटी तिर्न नसकेर जेलमा बसिरहेका ३ जना कैदीहरुलाई घरबाट पठाएको ‘पकेट मनी’ तिरेर छुटाए। डायरीका ती शब्दहरुले उनको मन हुलुको भयो। उनले भने, ‘ती शब्दहरुले मैले बाँच्ने उद्देश्य पत्ता लगाएँ।’ जेलमा उनले दुई–चार हजार धरौटी तिर्न नसक्दा मानिसहरू वर्षौं जेलमा सडिरहेका देखेका थिए । आफ्नै परिवारका सदस्यले मानसिक सन्तुलन गुमेको आफन्तलाई बलात्कारको आरोपमा जेलमा थुनेका थिए। अरुले फसाएर जेल सजाए भोग्नेहरु उत्तिकै थिए।

 

आफ्नै मान्छे भेट्न जेलमा आउँदैन थिए। जेल सुधार केन्द्रभन्दा पनि तनाव केन्द्रजस्तो थियो। जेलमा धेरै किसिमका कैदीहरुलाई प्रत्यक्ष देख्ने, भोग्ने र संगत गरेको कारण विवेकले ठम्याइसकेका थिए अपराधी मात्रै जेल पर्दैनन्। डायरी पढेपछि गन्तब्यहीन उनका पैतालाले नयाँ गोरेटो पाएको थियो। तत्कालै निर्णय गरे –‘अब म जेल परेका कैदीहरुलाई छुटाउँछु। धरौटी तिर्न नसकेर बाध्य भएर जेल बसिरहेकाहरुको उद्धार गर्छु। अनि, जेलभित्रका समस्याहरु समाधान गर्न पहल गर्छु।’

 

उनको यो निर्णय परिवारका लागि प्रिय थिएनन्। तर, विवेकको दृढसंकल्पको अगाडि कसैको केही लागेन्। काम गर्नको लागि संस्था दर्ता गराउनुपर्थ्यो। संस्था दर्ता गर्नको लागि सातवटा नागरिकता आफ्नै आफन्तहरुले दिएनन्। तर,टाढाको मानिसहरुले उनलाई विश्वास गरे ।
‘हिडेन लाइफ फाउन्डेसन’ नामक संस्था दर्ता भयो। सोही संस्था मार्फत उनी अहिले सामाजिक सेवाको काम गरिरहेका छन् ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
सम्पर्क कार्यालय,
Welcome Digital Pvt.ltd
Kathmandu, Kamaladi
सूचना तथा प्रशारण विभाग दर्ता नं: १६२४/०७६/०७७
Email : himalikhabar10@gmail.com
Web : www.himalikhabar.com
www.himalikhabar.com All rights reserve 2016