२०७६ कार्तिक २६

मातापिता प्रथम गुरु

 

  • डा. शास्त्रदत्त पन्त

–              बालबालिकाको पहिलो गुरु मातापिता र बाजेबज्यै हुन् । उनीहरू नै पहिलो गुरु हुन् । उनीहरूबाट सिक्ने कुरा बालमस्तिष्कमा गहिरोसँग टाँसिन्छ । मातापिता नै असल नभई बालबालिकाले असल शिक्षा पाउन सक्तैनन् । यो शिक्षा दिन मातापिता पढेकै हुनुपर्छ भन्ने छैन । असल आचरण र व्यवहार जानेको सुसंस्कृत भए पुग्छ । यो वंशज गुणमा निर्भर गर्नेको कुरा हो, पीडी शिक्षा हो । संस्कार गुण केवल एक योनिबाट मात्र निर्माण हुँदैन । यो गोत्रप्रवर, महर्षि योगी ज्ञानीदेखि संकलित चरित्रहरूको यौगिक गुण हो तथा अनुस्मिृतिको कुल योग हो । अनुस्मिृति त्यो विज्ञान हो, जसले तपाईंको जन्मजन्ममा गरेका राम्रानराम्रा कामको अभिलेख सन्तुलन हुँदै आउँछ । यो एक प्रकारको बैंक(ब्यालेन्स जस्तै हो ।
वंशज जीनमाथि आफूले कति थपिन्छ वा कति घटाइन्छ, त्यसमा निर्भर गर्छ, प्रत्येक आमाबाबुको क्षमता । प्रत्येक जन्ममा गरिने आहारविहार संयम आचरणले जीन सपार्ने र बिगार्ने काम गर्छ । बालकले उसको घरबाट के शिक्षा प्राप्त गर्छ, त्यो उसको जन्मपछिको मात्र नभएर उसैको अघिल्लो जन्मको र त्यसपूर्वका जन्मजन्मान्तरको योगफल हुन्छ । उसको कुलको तह के हो भन्ने कुरा उसैको यसरी निर्मित स्वभावले बताउँछ । पौरस्त्य चरित्रविज्ञानले विवाह गर्दा, पारिवारिक सम्बन्ध गाँस्दा यस कुरालाई बढी ध्यान दिने गर्छ । जातजाति र कुलको कुरा पनि यसैसँग गाँसिएको हुन्छ ।
मनोविज्ञानअनुसार वातावरण र वंशजको गुण ५०(५० प्रतिशत हुन्छ । त्यसलाई एक प्रतिशतभन्दा तल पार्न विवाह गर्दा सात पुस्तासम्मको ट्रेट्स केलाइने गरेको हुन्छ । प्रेम विवाह वा अन्तरजातीय विवाहले यस संस्कार धर्म विज्ञानको विरोधमा काम गर्छ । वैदिक संस्कारले छोइछिटो र जाति प्रथा मान्दैन । कुल या जीन र वातावरणको योगलाई मान्छ । पहिलोको ज्ञान शिशुका मातापिताबाट आउँछ । यही कारण हो( एउटै विद्यालयमा एउटै गुरुबाट पढाइएका विद्यार्थीको क्षमत र रुचि फरकफरक पर्छ । विद्यमान भौतिक उपभोक्तावादी मान्यताले निम्न मध्यम उच्च सबै कुलको विनाश गर्छ । आजका सबैखाले विवाह आसुरी हुन् । वैदिक धर्मले यसलाई अवैज्ञानिक र रुढिवादी तथा कामुकताबाट प्रभावित मान्दछ ।
जीवन धेरै अवस्थामा जटिलतातिर धकेलिनुको कारणमा अज्ञानी, अल्पज्ञानी र उल्टोज्ञानीहरूबाट शक्तिको प्रयोग गर्नुले हो । अझ राज्यको शासन बागडोर हातमा लिनेले त यसलाई नराम्रोसँग पतन गराउँछ । यो जटिल कुरा भएकाले नै हाम्रा पूर्वजले राज्य प्रमुखका रूपमा पारख गरिएको एकै कुलको राजा र राजधर्मको ज्ञान, सीप र क्षमता जनताले निर्धारण गर्थे । आज सत्तामा बस्नेको ज्ञान, सीप र क्षमता भनेको कति पाखुरे बल देखाउन सक्छ भन्नेमा सीमित छ । तिनको शिक्षा, आचरण, नैतिकता, संस्कार कुनै घेराले बाँधेको छैन । फलतः मुढेबल भएको टपरटुइँयाले राज्यशक्ति हत्याएको छ ।
प्राणी मात्रले ज्ञान, सीप, क्षमता, बुद्धि, विवेक सबै दुई तरिकाबाट आर्जन गर्छन्, वंशज या प्राकृतिक ट्रट्स् र वातावरणीय शिक्षा । पहिलो परमात्माले स्वाभाविक रूपमा दिइने हुन्छ, वरद हुन्छ, जुन सबै प्राणीले प्राप्त गर्छन् । आहार, भोग र आत्मरक्षाको ज्ञान सबै प्राणीमा हुन्छ, जसलाई ज्ञानवादीले परमात्मिक भन्छन् भने विज्ञानवादीले वंशज भन्छन् । पारमात्मिक ज्ञान भित्रबाट बाहिर आउँछ भने वातावरणीय ज्ञान बाहिरबाट भित्र पस्छ । यो ज्ञान दिन कुनै व्यक्ति माध्यम बन्छ, त्यसलाई हामी गुरु भन्छौं । ती गुरुका शिक्षाप्रति पनि धर्म हुन्छन् । गुरुप्रति पनि शिक्षार्थीका धर्म हुन्छन् । त्यसलाई हामी गुरुधर्म भन्छौं ।
शैवहरू शिवलाई परम गुरु मान्छन् ।
वैष्णवहरू विष्णुलाई र शिल्पीहरू परमपिता परब्रह्म विश्वकर्मालाई । पीडी शिक्षा आर्जन गर्नेले मातापितालाई ।कुलार्णव तन्त्रअनुसार प्रेम र भक्तिपूर्वक प्रार्थना गर्ने हो भने परम गुरु भौतिक शरीरमा प्रवेश गर्नु हुन्छ । यसैका आधारमा आजसम्म पनि आआफ्ना गुरुलाई सबै शिष्यले मान्ने गर्छन् । पौरस्त्य अध्यात्म संस्कारले गुरुशिष्यको अन्तरसम्बन्धलाई व्यापक गुरुधर्मको रूपमा लिएको छ । पौरस्त्य दर्शनमा नामुद गुरुहरूको ठूलो सूची छ । गोरखनाथ, दत्तात्रयदेखि शंकराचार्य विवेकानन्दसम्म हजारौं गुरुको नाम(सूची भेटिन्छ ।श्रीरामका गुरु वशिष्ठ, कृपाचार्यदेखि सारा ऋषिहरू, मुनिहरू गुरु हुन् ।श्रीकृष्ण अर्जुनका गुरु हुन् । ब्रह्मसूत्रदेखि १८ पुराणका लेखक वेदव्यास पनि वन्दनीय गुरु हुन् । गुरु परम्पराको यो शृंखला अहिले पनि कायम छ । यी धर्मगुरु हुन् ।
गौतमबुद्ध, हजरत मुहमद, गुरु नानक जेसस क्राइस्टहरू पनि गुरु हुन् । यी सबैका चेला अनन्त छन् । आचार्य रजनिस, बाल योगेश्वर, राधास्वामी, गुरु गोविन्दसिं, पोपहरू, महावीर वर्धमान, साइबाबा, रामदेव, कृपालुहरू, वैष्णव, वेदान्ती, बौद्ध, जैन, शैव, मुसलमान, पीर र सुफी, इसाई, क्याथोलिक, प्रेटिस्टेन्टहरू सबै गुरुहरू हुन् । यिनीहरू सम्प्रदाय गुरु हुन् । भिन्न मतले अलमल्लिएका भए पनि गुरु हुन् । गुरुहरू विचार, सिद्धान्त, तर्कदेखि भौतिक समुन्नति, सामाजिक मूल्य र मान्यता संरक्षक र बहसकर्ता पनि हुन् । आजभोलिका शिक्षा गुरु यसै तहमा पर्छन् ।
गुरुहरू भनेको महतत्वका बोधक, आत्मतत्वका मार्गदर्शक हुन् । जसरी ईश्वरले शरीर निर्माण, परिचालनसँगै उसमा केही गुण (टे«ट्सहरू) र आधारभूत ज्ञान दिएर जन्म दिन्छन्, त्यसै गरेर गुरुले मानव शरीर निखार्ने काम गरेकाले ईश्वरको अर्को रूपमा मानिन्छन्, पुजिन्छन् । गुरुले नै चेतनतत्वको ज्ञान दिन्छन् तथा मानिसभित्र रहेका अल्पज्ञता, अशुद्धता, अज्ञानता, अचेतनता हटाएर ठोस व्यक्तित्व बनाउने माध्यमको रूपमा काम गर्छन् । कुनै मानिसले सांसारिक दुःखबाट मुक्ति पाउने इच्छा राख्छ भने ऊ यस्ता गुरुमा मात्र समर्पित हुनुपर्छ ।
वास्तवमा गुरु भनेका आध्यात्मिक गुरु नै मानिन्छ । आजभोलि विद्यालय, महाविद्यालय, विश्वविद्यालयमा पढाउने शिक्षकहरू सबै भौतिक गुरु हुन् ।
भौतिक गुरुले सुख सम्पन्नता प्राप्तिको लागि विधि र प्रविधि सिकाउँछन् । आध्यात्मिक गुरुले परमतत्व साक्षात्कार गर्ने मार्गदर्शन गराउँछन् । वास्तवमा गुरु भनेका आध्यात्मिक गुरु नै मानिन्छ । आजभोलि विद्यालय, महाविद्यालय, विश्वविद्यालयमा पढाउने शिक्षकहरू सबै भौतिक गुरु हुन् । गाडी, जहाज, यन्त्र चलाउन बनाउन सिकाउने पनि गुरु हुन्, भौतिक गुरु ।
मादक पदार्थ, लागूपदार्थ खान सिकाउने, चोर्न सिकाउने, ठग्न र कालोबजारिया गर्न सिकाउने, मिसावट र घुसखोरी गर्न सिकाउने पनि त गुरु नै हुन् । भूमिगत आततायी गुरिल्ला युद्ध गरेर सशस्त्र युद्ध गरेर विश्वलाई आतंकित बनाइरहने पनि गुरु हुन् । तर यी सबै शुक्रमचार्यीय ज्ञानका उपज दानव, दैत्य, राक्षस र असुरका प्रतीक हुन् ।
गुरुहरूका भिन्न सम्प्रदाय वा कुल हुनुमा कुनै सूक्ष्मतत्व भिन्न हुन्छ । गौतमबुद्धलाई हिंसा र मूर्ति पूजा मन परेन । उनलाई जरामरणको कूतुहलता पनि जान्न मन लाग्यो । गुरु नानकलाई जात र वर्गमा विभाजित समाज मन परेन । उनले मानव शोषणविरुद्ध तथा समानताको लागि आवाज उठाए । हिमवत्खण्ड र भरतखण्डको उपमहाद्विपीय समाजमा रहेको जन्म र कामको आधारमा फरक देखिने जातिवादको विरोध गरे । ईश्वरले प्राणी मात्रलाई समान प्रेम गर्छ भन्ने स्थापित सिद्धान्तलाई समाजले बिगारेको भनेर त्यसविरुद्ध उनी लागे । उनको आदर्शले करोडौं मानिसको मन छोयो । उनी अब करोडौंका गुरु बनेका छन् । ईश्वर र सत्य सबैका लागि समान हुन्छ । उनको विचार कति प्रभावकारी भयो भने उनको सम्प्रदायको नाम नै ‘शिष्य’ अथवा शिष्य, शिख हुन पुग्यो । एउटा नैतिक र आत्मिक हुन पुग्यो ।
यस्ता हजारौं सिद्धान्तका हजारौं गुरु छन् ।
एउटा सिद्धान्तले निरन्तरता पाएसम्म गुरु निरन्तरता पनि हुने गर्छ । इसाई धर्ममा पोप नै निरन्तर गुरु हुन् । दलाई लामा तिब्बती बौद्ध दर्शनका गुरु हुन् । विश्वभरका सबै जाति, सबै सम्प्रदाय, उपसम्प्रदाय र सभ्यताका मानिसका आफ्नै गुरुहरू छन् । तर ओमकार परिवारका सम्प्रदाय र त्यसबाहिरका यी सम्प्रदायमा ठूलो अन्तर छ । ओमकार बाहिरकाले विश्वलाई वसुधैवम् कुटुम्बकम् मान्छ भने बाहिरकाले विभेद गरेर आततायी कामलाई सघाएका छन् । सबै सही विद्वानले असल र खरब छुट्ट्याउने र पारख राख्ने बेला आएको छ । नेपालका आजका विद्यालयका गुरुलाई पनि गुरुधर्म र विद्यार्थीलाई पनि शिक्षा धर्म सिकाउने बेला आएको छ ।
अरू प्राणीलाई होइन, मानिसलाई गुरुको आवश्यकता पर्दछ । किनकि मानिसले प्रकृतिले दिएको स्वाभाविक गुण गुमाएको छ । त्यो गुमेकाले उसले बारम्बार भुल्ने गर्छ । उसलाई बारम्बार सम्झाइ रहनुपर्छ । मन शान्ति र सात्विक भाव जगाइराख्नुपर्छ । त्यसैको लागि नै प्रत्येक दिन साँझबिहान नित्य कर्म, गायत्री जप, ध्यान, न्यास, स्वाध्याय, अध्यात्म चिन्तन गराइरहने परम्पराको विकास भएको हो ।
तर आजको दुर्भाग्य के हो भने जब लर्ड मेकाउले वैदिक आदर्श शिक्षा फालेर भौतिक उपभोक्तावादी शिक्षा इन्डियामा लदाए । नेपाल उपनिवेशी मुलुक नभए पनि छिमेकबाट यहाँ त्यसको प्रभाव र्पयो । फलतः वैदिक मान्यताविपरीत यहाँ पनि सबै शिक्षालय उद्योग, व्यापार प्रतिष्ठानमा बदलिए । गुरु पसले भए र विद्यार्थी ग्राहक । अब गुरुशिष्यको सम्बन्ध बदलियो । त्यसबाट चरित्र, नैतिकता इमानजमान, शान्ति र अमनचयनसमेत नासियो । विश्व नै अशान्त भएको छ, चरित्रहीन भएको छ । यसलाई पुनस्र्थापन गर्नु विश्वकै चासो र चिन्ता हुनुपरेको छ ।

-आजको अन्नपुुर्ण पोष्टबाट

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
सम्पर्क कार्यालय,
Welcome Digital pvt.ltd
Kathmandu, Kamaladi
Phone : 9851117401
Email : himalikhabar10@gmail.com
Publicer/Editor :Shanker Prasad Pandit
Web : www.himalikhabar.com
www.himalikhabar.com All rights reserve 2016