२०७६ कार्तिक २७

दार्जिलिङको सन्देश

 

 

–  आदित्यमान श्रेष्ठ     –
दार्जिलिङ आन्दोलनले सुतेको नेपाललाई जगाइदिएको छ । नेपालका नेपालीहरूले आफ्नो घर लथालिंग राखेकाले विश्वका अरू मुलुकमा बसोबास गरिरहेका नेपालीहरूतिर ध्यान दिएका छैनन् । नेपालका नेपालीले आफ्नो कर्तव्य निर्वाह गर्न सकेका छैनन् । उनीहरू आफ्नै घरमा निरिह र असहाय भएर बसेका छन् ।

 

 

नेपालको नाउँले नै उनीहरू नेपाली कहलाउँछन् । नेपाली भनी चिनिन्छन् । विश्वका अरू मुलुकमा बसोबास गरिरहेका नेपालीहरू पनि यही कारणले नेपाली भनी चिनिन्छन् । चाहे पहिलो आप्रवासी भएर गएका हुन्, चाहे उनका पुर्खाहरू आप्रवासी भएका हुन्, चाहे अस्थायी कामको लागि विदेश लागेका हुन्, उनीहरूको पहिचान नेपालसित नै जोडिएको हुन्छ ।

 

अरू मुलुकको नागरिकता प्राप्त गरेका नेपालीहरू कोही अमिरिकी, कोही बेलायती, कोही अस्ट्रेलियाली, कोइही भारतीय, कोही केनेडाली आदि भएका छन् । तर उनीहरूको नेपालसितको नाता टुटेको हुँदैन । उनीहरूलाई नेपाली मूलका नागरिक भनी चिनिन्छन् । नेपालीलाई नागरिकको रूपमा स्वीकार गर्ने मुलुकहरू प्रायः विकसित नै छन् । मध्यपूर्व र मलेसियाजस्तो अरू विकासशील देशहरूमा लाखौं नेपाली कामदारको हैसियतले गएका छन् ।

 

उनीहरू नेपाली नागरिक नै भएकाले नेपाली भनेर नै चिनिने भए । उनीहरूप्रति नेपाल र नेपाल सरकारको ठूलो र सीधा जिम्मेवारी छ । उनीहरूको कमाइमा नेपालका हजारौं परिवार निर्भर छन् । उनीहरूको सुखदुःखको सम्बन्ध र प्रभाव सीधै नेपालमा पर्छ । तर नेपाल र नेपाल सरकारले उनीहरूप्रति रहेको जिम्मेवारी पनि निर्वाह गर्न सकेको छैन । उल्टै उनीहरूको ठगीमा भागीदार भएर दोषी छन् ।
आखिर दार्जि्लिङका नेपालीले नेपालका नेपालीलाई कसरी झस्काइदिएका छन् ? दार्जि्लिङ भारतको एक भाग हो । सन् १९१६ मा नेपाल र ब्रिटिस भारतबीचमा भएको सुगौली सन्धिअगाडि दार्जि्लिङ नेपालको थियो । तर आज भारतको पश्चिम बंगाल राज्यको यो एक भाग भएर बसेको छ । नेपालको सरहदसित दुवै जोडिएको छ । तर त्यो कुनै समस्या होइन । भारतको अरू भागसित जोडिएको सरहदसित जस्तै यो पनि खुला छ । दुवै मुलुकका मानिस बिनाकुनै रोकटोक एकअर्काको सरहदभित्र पस्ने निस्कने गर्छन् ।

 

आज पुनः प्रश्न उठेको छ( के दार्जि्लिङका नेपाली जातिमाथि आपत् आइपर्दा नेपाल र अरू मुलुकमा बसोबास गरिरहेका नेपाली मूलका मानिसले सहानुभूति र सद्भावना देखाउने कर्तव्य होइन ?
दार्जिलिङ क्षेत्रमा जाँदा भने नेपालीले एउटै फरक पाउने गरेका छन् । त्यहाँ जाँदा आफ्नै भाषामा बोल्न पाउँछन्, कुराकानी गर्न पाउँछन् र उठबस गर्न सजिलो मान्छन् । तर के यो सुविधा भविष्यमा पनि रहनेछ ? यसमा भने शंका उत्पन्न भएको छ । किनभने पश्चिम बंगालको सरकारले उनका सबै नागरिकलाई बंगाली भाषा पढ्नुपर्ने अनिवार्य गराएको छ । भारतको संविधानअनुसार नेपाली भाषा पनि भारतको आधिकारिक भाषा मानिएको छ । दार्जि्लिङबासीले बंगाली भाषालाई सहर्ष स्वीकार गरेको भए नेपालका नेपालीले सिकायत गर्ने ठाउँ पाउँदैनथे ।

 

तर त्यहाँका नेपालीभाषीले सो स्वीकार गरेका छैनन् । यसको विरुद्ध संघर्षमा उत्रेका छन् । १० दिनभन्दा बढी जुलुस हडताल भइरहेको छ । भारत सरकारले सो दबाउन सेना नै परिचालन गरेको छ । नागरिक आन्दोलनमा एकैचोटि सेना परिचालन गर्नु असमान्य मानिन्छ । त्यो क्षेत्रमा बसोबास गरेका नेपाली मूलका गोर्खाली कहलिएका भारतीय नागरिकले कुन असामान्य परिस्थिति खडा गरेछन् कि भारतीय सेनालाई परिचालन गरियो भन्ने कतै व्याख्या गरिएको छैन ।

 

आन्दोलनको दौरान तीनजनाको ज्यान गइसकेको छ । त्यसबाट परिस्थिति अरू जटिल भएको देखिन्छ । अब त्यहाँका नेपाली मूलका गोर्खालीले बंगाली भाषा नसिक्ने अठोट दर्शाउनुको साथै एक कदम अगाडि गएर स्वायत्त गोर्खाल्यान्डको माग दोर्होयाएका छन् । गोर्खाल्यान्डको संघर्ष चलेको आज होइन, वर्षौं भइसकेको छ । जुन समयदेखि गोर्खाल्यान्डको माग उठेको हो, त्यसपछि भारतमा तेलंगना, झारखण्ड, उत्तराखण्ड आदि नयाँ राज्य बनिसकेका छन् तर गोर्खाल्यान्ड बन्न सकेको छैन ।

 

यसबाट भारतमा बसोबास गरेका नेपाली मूलका भारतीयहरूको माग लत्याइएको छ । तर अर्कोतिर भारत सरकारले नेपालमा भारतीय मूलका बासिन्दाको माग पूरा गरोस् भनेर ठूलो दबाब र हंगामा नै खडा गरेको छ । नेपालको संविधानले भारतीय मूलका नेपालीलाई समावेश गरेको छैन भन्ने आरोप लगाएर अनेक वितण्डा खडा गरेको छ । यसबाट एउटा ठूलो देशले सानो देशलाई दुःख दिन सक्ने रहेछ भन्ने कुरा प्रस्ट हुन्छ ।
नेपालका भारतीय मूलका बासिन्दाबारे भारत सरकारले खुलेआम आवाज निकाल्न सक्ने तर भारतमा बसोबास गरेका नेपाली मूलका नेपालीभाषीमाथि थिचोमिचो हुँदा नेपाल सरकार मूकदर्शक भएर बसेको छ । नेपाल सरकार भारतीयबाटै सञ्चालित भएकाले बोल्न नसकेको भन्ने कुरा कसैबाट लुुकेको छैन । यही तथ्यले दार्जि्लिङको घटनाले नेपालीलाई झस्काएको छ ।

 

भारतकै सम्बन्धमा विचार गर्दा सन् २०१५ मा नेपालको नयाँ संविधान घोषणा भएलगत्तै भारतबाट नेपालले नाकाबन्दी बेहोर्नुर्पयो । त्यो संकटापन्न अवस्थामा विश्वका विभिन्न देशमा बसोबास गरिरहेका भारतीय नाकाबन्दीको विरोधमा नेपाली मूलका मानिसले ठूलो प्रदर्शनी गरे । त्यसबाट भारत सरकारमाथि कति दबाब र्पयो, त्यसको लेखाजोखा गर्न गाह्रो छ । तर नेपालका नेपालीमाथि आपत् आइपर्दा विश्वमा फैलिएर बसेका नेपाली मूलका मानिसहरू जागेकै हुन् र आवाज उठाएकै हुन् । आजको संसार र युगमा यसले ठूलो महत्व राख्छ ।
त्यो बेलामा आवाज उठाउने मानिसहरू नेपाली नागरिक हो कि होइनन् भनेर कसैले सोधेनन् । उनीहरूले नेपाली भाषा बोल्छन् कि बोल्दैनन् भनेर कसैले सोधेनन् । उनीहरूले नेपालीसित विवाह गरेका छन् कि छैनन् भनेर पनि कसैले सोधेनन् । उनीहरूले दसैं(तिहार, तीजजस्तो नेपाली चाडपर्व मनाउँछन् कि मनाउँदैनन् भनेर पनि सोधेनन् । नेपाललाई नाकाबन्दीजस्तो आपत् पर्दा मन दुखाउने नेपाली देखिने नेपाली मूलका मानिसहरू वासिंटन, न्युयार्क, लन्डन, सिड्नी, क्यालिफोर्निया आदि सहरका सडकमा देखा पर्दा नेपाली जागरुकता प्रदर्शित भएको थियो ।

 

कतिसम्म भने भारतकै राजधानी नयाँदिल्लीमा समेत नेपाली मूलका मानिसले विरोध प्रदर्शन गरेका थिए । त्यो बेलामा को कहाँको नागरिक हो भनेर प्रश्न उठेन । त्यहाँ नेपाल र नेपालीको मूल भावनाको अभिव्यक्ति भयो र यो नै एकता, समता र सद्भावको प्रदर्शन भयो । आज पुनः प्रश्न उठेको छ( के दार्जि्लिङका नेपाली जातिमाथि आपत् आइपर्दा नेपाल र अरू मुलुकमा बसोबास गरिरहेका नेपाली मूलका मानिसहरूले सहानुभूति र सद्भावना देखाउने कर्तव्य होइन ? हो भने किन कुनै आवाज उठिरहेको छैन ? किन कतैबाट आवाज सुनिरहेको छैन ? किनभने नेपालीहरू भावनात्मक एकतामा बाँधिन सकेका छैनन् ।

 

हुन त यो भावनात्मक एकताको अभिव्यक्ति सामाजिक सञ्जालमा देखा पर्छ । तर त्यो संगठनात्मक र बलियो देखिँदैन । न त्यो प्रभावकारी नै देखिएको छ । केही चाहिने(नचाहिने वादविवाद हुन्छन्, तर त्यो त्यत्तिकै हराएर जान्छन् । त्यसैकारणले विश्वका अनेक देशहरूमा फैलिएर बस्न थालेका नेपाली मूलका नेपालीलाई भावनात्मक एकतामा जोड्ने एउटा ठूलो हाँक खडा भएको छ । नेपाल बाहिर बसोबास गरिरहेका खासगरी विकसित मुलुकमा बसोबास गरिरहेका नेपाली मूलका मानिसले अनेक संगठनहरू खडा गरेका छन् । तर, उनीहरूको मूल उद्देश्य नेपालमा लगानी गर्ने र नेपालबाट केही सुविधा प्राप्त गर्नेमा सीमित देखिन्छ ।

 

विश्वमा फैलिएर बसेका नेपालीलाई भावनात्मक एक सूत्रमा बाँधिराख्ने लक्ष्य कसैले पनि लिएको देखिँदैन । त्यसैले यसको पहल र सुरुआत नेपालबाट नै हुनुपर्छ । दार्जि्लिङले दिइरहेको एउटा ज्वलन्त सन्देश यही हो ।   स्रोत : अन्नपुुर्ण पोष्ट

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
सम्पर्क कार्यालय,
Welcome Digital pvt.ltd
Kathmandu, Kamaladi
Phone : 9851117401
Email : himalikhabar10@gmail.com
Publicer/Editor :Shanker Prasad Pandit
Web : www.himalikhabar.com
www.himalikhabar.com All rights reserve 2016